खाडीमा कार्यरत नेपाली महिला कामदारहरुलाई खुसिको खबर, अब नेपाल फिर्ने बाटो खुल्यो

Posted on: 21 Aug, 2019

भदौ ४, काठमाडौँ | खाडीमा कार्यरत नेपाली महिला कामदारहरुलाई खुसिको खबर छ । यस अघि खाडीमा कार्यरत घरेलु नेपाली महिला कामदारहरु नेपाल आएपछि फर्कन नपाउने भएका कारण नेपालनै नआई उतै बस्दै आएका थिए । अब त्यस्ता घरेलु कामदारलाई स्वदेश फर्किएर पुनः रोजगारीका लागि पहिलेकै रोजगारदाता कहाँ जाने बाटो खुला भएको छ । 

यो सहुलियत नेपालबाट खाडी जाने नयाँ घरेलु कामदारलाई भने प्राप्त हुनेछैन । जो पहिलेनै घरेलु कामदारको रुपमा खाडीमा बस्दै आएका छन, उनीहरुको लागि यो सहुलियतले नेपाल फर्किएर पुन: आफू पहिले गएको स्थानमा काम गर्न पाउने भएका हुन् । 

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले स्वदेश फर्किएर रोजगारदाता कहाँ आफू सुरक्षित रहेको भनि निवेदन दिने कामदारलाई पुनः श्रम स्वीकृति दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । यो निर्देशनले घरेलु कामदारलाई आफ्नो परिवारसँग मिलन गराउन सहयोग पुग्नेछ । 

२०७३ चैत २० गते तत्कालिन संसदीय समितिले खाडी तथा मलेसियामा घरेलु कामदार जान पूर्ण रोक लगाएसँगै श्रम मन्त्रालयले विदामा आएर पहिलेकै रोजगारदाता कहाँ काम गर्न जानेलाई समेत श्रम स्वीकृति दिन रोकेको थियो ।

घरेलु कामदारले स्वघोषित रुपमा सुरक्षित छु भन्ने प्रतिवद्धता गरिएको खण्डमा र त्यसमा विदेशस्थित नेपाली दूतवासको सिफारिस भएमा पुनः स्वीकृतिको व्यवस्था मिलाउने निर्णय भएको छ । बैठकमा सांसदहरुले पुनः श्रम स्वीकृति बन्द हुँदा घरेलु कामदारले आफ्नो परिवार भेट्नबाट वञ्चित हुनुपरेको भन्दै खुलाउनुपर्ने माग गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!