आप्रवासी कामदारको हकहितका लागि कार्त्तिक २६ देखि २८ सम्म काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन हुने

Posted on: 07 Nov, 2019

कार्त्तिक २१, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले यहि कार्त्तिक २६, २७ र २८ गते ‘आप्रवासी कामदारको मानव अधिकार संरक्षण विषयक अन्तर्राष्ट्रिय सम्मेलन’  आयोजना गर्ने भएको छ ।  आयोगले विहिबार पत्रकार सम्मेलन गरि सम्मेलनको लागि आवश्यक तयारी पुरा भएको जानकारी दिएको हो । 


आप्रवासी कामदार स्वच्छ र जवाफदेही भर्ना प्रक्रिया, कामदारको सुरक्षा, परिवारको अधिकार तथा न्यायमा पहुँचजस्ता विषयमा सम्बोधन गर्न ३ दिनसम्म काठमाण्डौमा सम्मेलन गर्न लागिएको आयोगका सदस्य सुदिप पाठकले जानकारी दिए । 

आप्रवासी कामदारको अधिकार संरक्षणमा खासगरी एसिया प्रशान्त क्षेत्रका उत्पत्ति देश र गन्तव्य देशमा देखिएका चुनौती, स्वच्छ र जिम्मेवारी भर्ना प्रक्रिया, अनियमित आप्रवासनलाई सम्बोधनको साझा सवाल, न्यायमा पहुँचको सुनिश्चिताका सम्भावना तथा प्रयास, सहकार्य र सूचना अदानप्रदानजस्ता विषयमा सम्मेलन केन्द्रित हुने पाठकले बताए ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञबाट कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनमा विभिन्न देशका मानव अधिकार आयोगका अध्यक्ष तथा सदस्य, अन्तर्राष्ट्रिय विज्ञ, सरकारका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिका साथै आप्रवासी कामदारको मानव अधिकार संरक्षण कार्यरत अन्तर्राष्ट्रिय संस्था सहभागी हुने आयोगले जनाएको छ । साथै ६२ जना अन्तराष्ट्रिय प्रतिनिधि र ४५ जना राष्ट्रिय प्रतिनिधिहरुको सहभागितामा रहने आयोगले जानकारी दिएको छ । 

साउदी,अरब, कुवेत, बहराइन लगायत खाडीका देशबाट समेत प्रतिनिधित्व रहने जनाइएको छ् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!