जापान जाने मोह: १३ हजार जनाको दौडधुप, उपलब्धि 'जिरो'

Posted on: 04 Dec, 2019

मङ्सिर १८, काठमाडौँ | बैदेशिक रोजगारीको लागि उचित गन्तव्य मानिएको जापानामा पहिलो चरणमा नेपाली कामदार जान नपाउने भएका छन् । पहिलो चरणमा जापान फाउन्डेसनले लिएको नर्सिङ केयर गिभरको सीप परीक्षामा सबै फेल भएका हुन् । भाषा परीक्षामा भने १ जना पास भएका छन् ।

भाषा परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए भने लक्की ड्रबाट १ हजार जना छानिएका थिए । ति मध्ये पहिलो चरणको सामान्य भाषा परीक्षामा ५ सय ९ जना छानिएकोमा ४ सय ९७ जनाले मात्र परीक्षा दिएका थिए । जसमा ५६ जना मात्र उत्रिण भए । उत्रिण भएकाहरुमध्ये पहिलो चरणमा नर्सिङ भाषा परीक्षामा १२ जना र सीप परिक्षणमा १५ जना सहभागी भएका थिए तर भाषा परीक्षामा १ जना मात्र पास भए भने सीप परीक्षामा कसैले पास गर्न सकेनन् । 

नेपाल र जापानको श्रम समझदारी अनुसार भाषा र सीप दुवैमा उत्रिण भएपछि मात्र जापान जान सकिन्छ तर सिप परिक्षणमा पहिलो चरणमा सहभागी भएका मध्ये १ जना पनि पास नभएपछि जापान जाने प्रक्रिया माथिनै प्रश्नचिन्ह खडा भएको छ । आवेदनमा परेकाहरुमध्ये गोलाप्रथा बाट छान्नु उपयुक्त नभएको भन्दै आलोचना भएको छ । यस सन्दर्भमा श्रम मन्त्रालयले छनोट प्रणालीप्रति असहमति जनाई सकेको छ । लक्की ड्र बाट कामदार छान्दा योग्य आवेदक नपर्न सक्ने  भन्दै लक्की ड्र प्रणाली सुधार्नुपर्ने सुझाव मन्त्रालयको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!