पुष २२, काठमाडौँ | वर्तमान सरकारले निवर्तमान श्रममन्त्री गोकर्ण विष्टको स्थानमा नयाँ मन्त्री बनाए पछि सरकारप्रति आलोचना भईरहेका बेला नयाँ मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आफूले तीन महिनामा पुरा गरिसक्ने उद्घोष गर्दै २५ कार्ययोजना अघि सारेका छन् । मन्त्रालयले गरिरहेको वर्तमान गतिविधी तथा आगामी कार्ययोजना बारे जानकारी दिनको लागि मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले आगामी तीन महिनामा पुरा गरिसक्ने २५ वटा कामको विवरण सार्वजनिक गरेका हुन् ।
उनले सार्वजनिक गरेको नयाँ कार्ययोजनामा रोजगारमूलक सीप विकास तालिम, बैदेशिक रोजगारको शिलशिलामा अंगभंग भएका तथा मृत्यु भएकाहरुको हकवालालाई स्थानीय स्तरबाटै सुविधा पाउने व्यवस्था, चालु आर्थिक बर्षमा ६० हजार बेरोजगारलाई न्युनतम १०० दिनको रोजगारीको ग्यारेन्टी, विदेशबाटै श्रम स्वीकृति, पुराना सबै संस्थागत उजुरीको छानवीन प्रक्रिया सम्पन्न गर्ने लगायतका कार्यक्रम रहेका छन् ।
त्यस्तै बैदेशिक रोजगारीबाट फर्किएका कामदारहरुका लागि आर्थिक तथा सामाजिक पुन: एकीकरण कार्यक्रम कार्यान्वयनमा ल्याइने, ३९ जिल्लामा सुरक्षित बैदेशिक रोजगार सम्बन्धि सूचना/परामर्श सेवा दिने, ओमानसंग द्विपक्षीय श्रम सम्झौता, आगामी तीन महिनामा १५ हजार रोजगारदाता र थप १ लाख योगदानकर्तालाई सामाजिक सुरक्षामा आवद्ध गराउने भन्दा बढी रोजगारदाता र श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने श्रम मन्त्री यादवको उद्घोष रहेका छन् ।
मन्त्रालयमा पदवहाली गरेलगत्तै सीपयुक्त कामदार मात्र विदेश जाने वातावरण बनाउने उद्घोष गरेका मन्त्री यादवले आफ्नै कार्यकालमा श्रमिक बैंक स्थापना गर्ने महत्वकांक्षि योजनाको समेत खुलासा गरेका छन् । श्रम मन्त्रीले आगामी ३ महिनामा गर्ने भनेको कामहरु भने अधिकांश पुरानै कामको निरन्तरता हुन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!