वैदेशिक रोजगारीको नाममा अनधिकृत व्यक्तिबाट ठगिदैछु भन्ने लागेमा के गर्ने ?

Posted on: 13 Jan, 2020

पुस २८, काठमाडौं ।  वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीबीच भएको समझदारीपत्र कार्यान्वयनका लागि संयुक्त वैठकले आवश्यक प्रक्रिया टुंग्याएको छ । विभाग र नेपाल प्रहरी विच हिजो भएको समझदारी अनुरुप ठगीका उजुरी प्रहरी कार्यालय बाट नै दिन सकिने व्यवस्था कार्यान्वयनका लागि सोमबार प्रक्रिया टुंग्याईएको हो ।

अबदेखि वैदेशिक रोजगार ठगीका उजुरी प्रहरी कार्यालयमै दिन सकिने, विभाग र प्रहरी विच समझदारी

अबदेखि वैदेशिक रोजगारीका क्रममा हुने ठगि तथा समस्याका उजुरी प्रहरी कार्यालयमा नै दिन सकिने व्यवस्था गरिएको छ । विभाग र नेपाल प्रहरीबीच भएको समझदारीपत्र कार्यान्वयनका लागि सोमबार बसेको संयुक्त वैठकका गरेका निर्णयहरु निम्न रहेका छन् । 

कुनै व्यक्तिले आफू वैदेशिक रोजगारीको नाममा अनधिकृत व्यक्तिबाट ठगिदैछु भन्ने लागेको अवस्थामा वा ठगिइसकेको लागेमा स्थानीय प्रहरीको मुद्दा हेर्ने इकाईमा उजुरी दिन सक्नेछ। 

इकाईले यसरी प्राप्त उजुरीका सम्बन्धमा उजुरीकर्ताले उजुरीसाथ पेश गरेका वैदेशिक रोजगार खुल्ने कागज¸प्रमाण¸लिखत¸बैंक भौचर¸मनि ट्रान्सफरको भौचर वा अन्य परिस्थितजन्य प्रमाण (साक्षीसँग सोधपुछ गर्ने लगायत) को आधारमा आरोपितले वैदेशिक रोजगार कसुर गरेको खुल्ने देखिएको अवस्थामा वैदेशिक रोजगार ऐन¸२०६४ को दफा २१ क को उपदफा (४) बमोजिम प्रमुख जिल्ला अधिकारीमार्फत कारवाई चलाउनको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा लेखी पठाउने छ। 

आरोपित व्यक्ति इजाजतपत्रवाला संस्थाको संचालक वा कर्मचारी भएमा त्यस्तो उजुरी सोझै वैदेशिक रोजगार विभाग¸काठमाडौंमा लेखी पठाउने। संचालक वा कर्मचारी भए नभएको सम्बन्धमा विभागको वेवसाईटमा हेरी वा उपयुक्त र छिटो माध्यमबाट विभागमा सम्पर्क गरी यकीन गर्न सकिनेछ। तर स्पष्ट रुपले वैदेशिक रोजगार खुल्ने नदेखिएमा प्रहरीले प्रचलित कानून बमोजिमको आफ्नो क्षेत्राधिकार प्रयोग गरी आवश्यक कारवाही प्रकृया अगाडि बढाउन सक्नेछ।

उपर्युक्त बमोजिम वैदेशिक रोजगार विभागमा पठाईएका उजुरीहरुको अनुसन्धान तहकिकातको शिलशिलामा दफा ६१(५) बमोजिम प्रहरी कर्मचारीको सहयोग लिन पर्ने अवस्थामा कसूरदार पक्राउ¸साक्षी बुझ्ने¸जाहेरवाला बुझ्ने वा मौकाका व्यक्तिहरुलाई बुझ्ने र प्रमाण संकलन गर्ने समेतका कार्यहरु सम्पन्न गर्नको लागि विभागको अनुसन्धान अधिकृतले सम्बन्धित प्रहरीको मुद्दा चल्ने ईकाईको सहयोग लिन सक्नेछ।   

नेपाल प्रहरीबाट अनुसन्धान भई मुद्दा चलेको अवस्थामा सोही व्यक्ति उपर वैदेशिक रोजगार कसूरको मुद्दा समेत चल्न सक्ने देखिएमा सो तर्फ कानूनी कारवाही अगाडि बढाउने प्रयोजनको लागि अनुसन्धान गर्ने सम्बन्धित प्रहरी ईकाईले वैदेशिक रोजगार विभागमा लेखी पठाउनेछ। त्यसैगरी वैदेशिक रोजगार विभागमा दर्ता हुन आएका वैदेशिक रोजगार कसूरको उजुरीको अनुसन्धानको शिलशिलामा मुलुकी फौजदारी कार्यविधि संहीता¸२०७४ को अनसूची १ भित्रको कसूर अन्तर्गतको अन्य कसूरमा समेत आरोपितको संलग्नता खुल्न आएमा सोही व्यहोरा उल्लेख गरी नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग समक्ष विभागले लेखी पठाउनेछ। 

वैदेशिक रोजगार व्यवसाय गर्न इजाजत प्राप्त नगरी वैदेशिक रोजगारीमा पठाउँछु भनी कुनै पनि व्यक्ति वा संस्था (ट्राभल एजेन्सी¸कन्सल्टेन्सी, सहकारी लगायत) ले रकम संकलन गर्ने¸ राहदानी संकलन गर्ने¸ प्रलोभन दिने जस्ता कृयाकलाप गरेको सूचना प्रहरीको ईकाईमा प्राप्त भएमा त्यस्ता व्यक्ति वा ट्राभल एजेन्सी¸कन्सल्टेन्सी लगायतका संस्थाका संचालकलाई वैदेशिक रोजगार ऐनको दफा ६२(१) बमोजिम प्रहरी कर्मचारीलाई प्राप्त अधिकार प्रयोग गरी पक्राउ गर्नेछ। त्यसरी पक्राउ परेको व्यक्तिलाई मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्ने प्रयोजनको लागि विभाग समक्ष पठाउनु पर्नेछ।

वैदेशिक रोजगार व्यवसाय गर्न इजाजत पत्र लिएका बाहेक अन्य व्यक्ति वा संस्थाले गैरकानूनी रुपमा वैदेशिक रोजगार व्यवसाय संचालन गरेको वा सो सम्बन्धी कृयाकलापमा संलग्न भएको भन्ने सूचना विभागमा प्राप्त भएमा उक्त सूचनाको गाम्भिर्यता¸ कसूर भएको वा हुन लागेको स्थान समेतलाई दृष्टिगत गरी विभागले आवश्यकता अनुसार नेपाल प्रहरीको अपराध अनुसन्धान विभागसँग परामर्श गरी त्यस्तो गैरकानूनी कृयाकलाप भएको वा हुन गईरहेको स्थानमा छापा मार्न भनी स्थानीय प्रहरीको मुद्दा चल्ने ईकाईलाई उपयुक्त माध्यमबाट अनुरोध गर्नेछ। त्यसरी छापा मार्ने क्रममा विभागमा प्राप्त सूचना बमोजिमको गैरकानूनी कार्य भएको देखिएमा बरामदी मुचुल्का खडा गरी कसूरदार पक्राउ परेको अवस्थामा बरामदी मुचुल्का र कसूरदार समेत तथा कसूरदार पक्राउ नपरेको अवस्थामा सोही व्यहोरा उल्लेख गरी बरामदी मुचुल्का र सो बमोजिमका सामाग्रीहरु समेत थप कानूनी कारवाहीको लागि वैदेशिक रोजगार विभागमा पठाउनु पर्नेछ।

कसुरको प्रकृति हेरी नेपाल प्रहरी र वैदेशिक रोजगार विभागको संयुक्त अनुसन्धान टोली परिचालन गरिनेछ। उपर्युक्त बमोजिमको व्यवस्था कार्यान्वयन एवं सहजिकरणका लागि वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीको सम्पर्क व्यक्ति समेत तोकिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!