पुस महिनामा मात्रै ५२ हजार युवा विदेशिए, यी हुन्, धेरै कामदार पठाउने टपटेन म्यानपावर

Posted on: 26 Jan, 2020

मनोज पराजुली । माघ १२, काठमाडौं । वैदेशिक रोजगारीको लागि पुस महिनामा मात्रै ५२ हजार भन्दा बढी युवा विदेशिएका छन् । संस्थागत, रिईन्ट्री, व्यक्तिगत तथा वैधानिकीकरण गरी गत महिनामा ५२ हजार २ सय २५ जना रोजगारीका लागि विदेशिएका हुन् । 

वैदेशिक रोजगार विभागको पुस महिनाको रेकर्ड अनुसार सबै भन्दा धरै कामदार मलेसिया गएका छन् । गत महिना ७ हजार ८ सय ४१ जना गत महिना मलेसिया गएका छन् । मलेसियापछि साउदीमा नेपाली कामदार गएका छन् । पुसमा साउदी अरब जानेको संख्या ६ हजार ३ सय २८, यूएई जानेको संख्या ५ हजार ६ सय ५९ रहेको छ, भने कतार जानेको संख्या ४ हजार ८ सय २२ रहेको छ ।  पुस महिनामा श्रम स्वीकृति लिएर विश्वका विभिन्न ८४ मुलुकमा नेपाली कामदार पुगेका छन् । 

चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा नै २ लाख ५० हजार भन्दा बढी नेपाली विदेशिएका छन् । विभागले सार्वजनिक गरेको साउन महिना देखि पुस सम्म ६ महिनाको रेकर्ड अनुसार रोजगारीको लागि कुल २ लाख ५३ हजार १३ जना नेपाली विदेशिएका हुन् ।

दि रिभर ओभरसिज एक नम्बरमा 

दि रिभर ओभरसिज प्रा.लि. सबै भन्दा बढी कामदार पठाउने म्यानपावर सूचीको पहिलो नम्बरमा परेको छ । रिभरले पुस महिनामा मात्रै ५ सय ९३ कामदार पठाएको छ । मंसिर महिनामा ४ सय ८५ जना विदेश पठाएर ब्ल्यू ओसियन पहिलो स्थानमा रहेको थियो । 

प्याराडाइज इन्टरनेशनल प्रा.लि.ले ४ सय ५१ कामदार पठाएर सूचीको दोश्रो नम्बरमा परेको छ। तेश्रो नम्बरमा रहेको कोशी ईन्टरनेशनल सर्भिस प्रा.लि.ले ४ सय ३२ जना पठाएको छ । मंसिर महिनामा दोश्रोमा रहेको एस.ओ.एस सर्भिसेस् प्रा.लि. ले ४ सय ३२, तेश्रोमा रहेको नौकरी नेपाल प्रा.लि.ले  ३ सय ६८ जना विदेश पठाएका थिए ।

पुस महिनामा चौथो नम्बरमा रहेको अन्जली ओभरसीज सर्भिस प्रा.लि.ले ३ सय ६०, एस.ओ.एस सर्भिसेस प्रा.लि.ले ३ सय १७ कामदार पठाएर पाँचौं, २ सय ८७ कामदार पठाएर भिजन एण्ड भ्यालु ओभरसीज प्रा.लि छैठौं नम्बरमा परेको छ । डिके रिभर ओभरसीज प्रा.लि. र ग्राण्ड शिखर ओभरसीज प्रा.लि. ले समान २ सय ७१ जना कामदार पठाएर सातौं, मास ह्युमन रिसोर्स प्रा.लि.ले २ सय ५८ कामदार पठाएर आठौं, ए एस ईन्टरनेशनल ग्रुप प्रा.लि ले २ सय ४७ जना कामदार पठाएर नवौं र २ सय २० कामदार पठाएर साउण्ड लाइन्स दशौं स्थानमा परेको छ । 

विभागमा दर्ता रहेका ८ सय ५४ म्यानपावर कम्पनी मध्ये पुस महिनामा ७ सय ६८ म्यानपावर कम्पनीले मात्र कामदार पठाएका छन् । पुस महिनामा सय जना भन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीको संख्या ५३ रहेको छ भने दश जना भन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीको संख्या २ सय ७३ रहेको छ । ८६ म्यानपावर कम्पनीले एकजना पनि कामदार पठाएका छैनन् । 

अदक्ष कामदार बढी 

पुस महिनामा श्रम स्वीकृति लिएका मध्ये सबैभन्दा धेरै अदक्ष कामदार रहेका छन् ।  गत महिना २९ हजार ९ सय ६५ अदक्ष कामदार विदेश पुगेका छन् । त्यस्तैगरी सीपयुक्त जनशक्ति १७ हजार ६०६, अर्धसिप भएका ४ हजार २०, व्यवसायिक सिप भएका २८ जना र विशिष्ट सिप भएका ६ जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ । सरकारले आगामी ५ वर्ष भित्र बाध्यकारी बैदेशिक रोजगार अन्त्य गर्ने लक्ष्य लिएको छ तर त्यस अनुरुप काम हुन नसक्दा युवाहरु बैदेशिक रोजगारीमा जाने क्रम भने रोकिएको छैन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!