एनआरएनए साउदी अरवद्धारा वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन १० बूँदे माग (पत्रसहित)

Posted on: 16 Feb, 2020

फागुन ४, रियाद । गैर आवासीय नेपाली संघ (एनआरएनए)साउदी अरबले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन १० बूँदे मागसहितको धयाकर्षण तथा ज्ञापनपत्र हस्तान्तरण गरेको छ । साउदीमा आयोजित एक विशेष अन्तरक्रिया कार्यक्रमको अवसर पारेर संघले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन विभिन्न १० बूँदाहरु समेटेर संस्थागत रुपमा ध्यानाकर्षण र ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।


बैदेशिक रोजगारको सिलसिलामा साउदी अरबमा रहेका नेपाली श्रमिकहरुको समस्या समाधान र न्यूनीकरणका लागि नेपालबाट साउदी अरबको भ्रमणमा आएका विभिन्न व्यक्तित्वहरुमाझ सो ज्ञापनपत्र हस्तान्तरण गरिएको हो । सो भ्रमण टोलीमा मलेसियाका पूर्व राजदूत तथा आइएलओका कन्सल्टेन्ट बिषयगत विज्ञ डा. ऋषिराज अधिकारी, परराष्ट्र मन्त्रालय, मध्य तथा पश्चिम एसिया एवम् अफ्रिका महादेश हेर्ने महाशाखा तथा शाखा प्रमुख हरिशचन्द्र घिमिरे, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागका निबर्तमान महानिर्देशक डा.भिष्मकुमार भुसाल, परराष्ट्र मन्त्रालयका सहसचिब कुलबहादुर मगर, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका शाखा अधिकृत जमुना काफ्लेलगायत रहेका छन् ।

सो भ्रमण टोली र नेपाली राजदूतावास रियादका नियोग प्रमुख दिलिपकुमार पौडेललाइ नेपाली श्रमिककहरुका हितका लागि सम्बन्धित निकाय र सरोकारवालाहरुको ध्यानाकर्षण सहित आवश्यक पहल गरिदिने संघले आशा व्यक्त गरेको उल्लेख गर्दै ज्ञापनपत्र बुझाएको हो । सो ज्ञापनपत्रमा म्यानपावर व्यवसायी र बिचौलियाद्वारा नेपाली श्रमिकमाथि भइरहेको ठगी रोकिनुपर्ने, सम्झौता अनुसारको तलब सेवा सुविधा उपलब्ध हुनुपर्ने, श्रम सम्झौताको पूर्ण पालना हुनुपर्ने, पुनः श्रम स्वीकृतिको नयाँ नीतिले निम्त्याएको प्रतिकूल असर हल गर्नुपर्ने लगायत छन् ।

यसैगरी श्रमिकका समस्या छिटो समाधान गर्नको निम्ति स्वयंसेवक परिचालन सम्बन्धी व्यवस्था गर्नुपर्ने, साउदी अरबमा काम गर्ने नेपालीको जीवन रक्षा गर्नुपर्ने, दक्ष जनशक्ति तथा बिदेशमा सिप सिकेर नेपाल फर्केका नेपाली श्रमिकको ब्यबस्थापन हुनुपर्ने, नेपाली महिला कामदारहरुको सुरक्षा र ब्यबस्थापनमा ध्यान दिनुपर्ने, नेपाली श्रमिकहरुको न्युनतम ज्यालाको मापदण्ड बनाउनुपर्ने, दक्ष कामदारहरुको पैठारी गर्नुपर्ने रहेका छन् ।

उक्त अन्तरक्रिया कार्यक्रममा गैर आवासीय नेपाली संघ साउदी अरबका पदाधिकारी एनआरएनए मध्यपूर्बका सहसंयोजक राजेन्द्र अर्याल, एनआरएनए आईसिसि सदस्य यासिन बेगम सैयद, एनआरएनए अभियन्ता राजु सैयदलगायतको उपस्थिति रहेको थियो । परराष्ट्र मन्त्रालयको नेतृत्वमा श्रम मन्त्रालयका प्रतिनिधि एवं विज्ञ व्यक्ति विशेष संलग्न श्रमिक समस्या अध्ययन टोलीसंगको अन्तरक्रिया विषयक कार्यक्रम अत्यन्त फलदायी भएको एनआरएनए मध्यपूर्बका सहसंयोजक राजेन्द्र अर्यालले बताए ।

हस्तान्तरण गरिएको ज्ञापनपत्रका वुंदाहरु:

१.म्यान पावार ब्यवसायी र बिचौलिया द्वारा नेपाली श्रमिक माथि ठगी: नेपाल सरकारले खाडी मुलुकमा काम गर्न जाने नेपाली श्रमिकका लागि फ्री भिसा फ्री टिकट निती जारी गरेको वर्षौं बितिसक्दा पनि म्यान्पावर व्याबसायीहरुले ठग्ने प्रकृया अझै रोकिएको छैन । नेपाल सकारद्वार निर्धारित सेवा शुल्क लाइ बेवास्त गरि १ लाख देखी डेढलाख सम्म रकम लिने र मात्र १० हजारको रसिद थमाइने कार्यले आज सम्म पनि निरन्तरता पाइरहेको छ । यस्तो प्रकारको ठगी गर्ने व्याबसायीलाई कानुनी दायारामा ल्याएर यथाशिघ्र कारबाही गर्नको निम्ती हामी संस्थागत माग गर्दछौं ।

२.सम्झौता अनुसारको तलब सेवा सुविधा नपाउनु: बैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका नेपाली कामदारहरुले भोग्नु परेका समस्याहरु मध्येको प्रमुख समस्या सम्झौता अनुसारको तलब सेवा सुविधा नपाउनु हो । नेपालमा म्यानपावर एजेन्सी र कामदार विच भएको सम्झौतालाइ साउदी अरबमा रोजगारदाता कम्पनीले हु-बहु कार्यान्वयन नगर्दा नेपाली कामदारहरु निकै तनावग्रस्त हुने गरेका छन्, फलतः उनिहरु केही बढि तलव पाउने आशामा भागेर काम गर्न बिवश हुंदा अवैध कामदारको रुपमा शिकार हुने गरेका छन् । यसमा कामदार भगाउन प्रेरित गर्ने विचौलियाहरुको पनि बिगबिगी रहेको छ । अवैध कामदारहरुलाइ साउदी अरबको कानुनले हेर्ने दृष्टिकोण र उनिहरुले भोग्नु परेको समस्या निकै दर्दनाक रहेको छ । यसको रोगथामका लागि नेपाल सरकार र सम्बन्धित निकायले गम्भीरता पूर्वक यथाशिघ्र कदम अघि बढाउन हामी संस्थागत अनुरोध गर्दछौं ।

३.श्रम सम्झौता: साउदि अरब र नेपाल सरकार विच हुने भनिएको श्रम सम्झौताले हालसम्म पनि पूर्णता पाउन सकिरहेको छैन,जसको प्रत्यक्ष मार लाखौंको संख्यामा रहेका नेपाली श्रमिकहरु माथि परि रहेको छ । यदि श्रम सम्झौता भई कार्यान्वयन भएमा बुंदा नम्बर २ मा उल्लेखित समस्या अवश्य न्यूनीकरण हुनेथियो । त्यसकारण सम्बन्धित सरोकारवालाहरुलाइ कुटनैतिक पहल गरि यथासम्भव श्रम सम्झौता कार्यान्वयनका लागि हामी संस्थागत अनुरोध गर्दछौं ।

४.पुन: श्रम स्विकृतिको नयां नितिले निम्त्याएको प्रतिकूल असर: हालै नेपाल सरकारद्वारा कार्यान्वयन गरिएको पुन:श्रम स्वीकृतिको व्यवस्थाले खाडी मुलुक अन्तर्गत साउदि अरबमा रहेका नेपाली कामदारहरु निकै मारमा परेका छन् र सास्ती बेहोर्नुपरेको छ भने पुन: श्रम सम्बन्धी नयाँ नितिले कतिपय घर बिदामा गएका कतिपय नेपालीहरु साउदी फर्कन नपाइ आफ्नो रोजगारी बाट समेत हात धुनु परेको छ । एसार्थ नयाँ नियम थप व्यववस्थित वा पुरानै नियम यथावत राख्न वा सहजता गर्न हामि अनुरोध गर्दछौं । साथै श्रम नविकरण सम्बन्धी: सम्बन्धित देशका राजदुताबास बाट नै शुरु गरिने पछील्लो सरकारको घोषणा अझै कार्यन्वयन हुन नसकेकोले हामी संस्थागत ध्यानाकर्षण गराउन चाहन्छौं।

५.श्रमिकका समस्या छिटो समाधान गर्नको निम्ती स्वयंसेवक परिचालन सम्बन्धी: बैदेशिक रोजगारिको शिलशिलामा साउदी अरबमा आएका नेपाली श्रमिकहरु भौगलिक हिसाबले झन्डै भारत जत्रो १३ प्रान्तिय यो देशमा रियाद स्थित नेपाली राजादुताबास र जेध्दा स्थित नेपाली महावाणिज्य दुताबासको पहुंच देखी टाढा रहेका नेपाली श्रमिकहरु समस्यामा पर्दा तत्काल उध्दार कार्यमा कठिनाई आएको नजीर बिगत देखी कायमै छ। यस्ता दुरदराजमा रहेका नेपाली श्रमिकको सहयोग, उध्दार तथा राहत गर्ने उध्देश्यले गैर आसाविय नेपाली संघका कृयाशिल पदाधिकारीहरुलाई बिभिन्न शहरहरुमा परिचालित गर्न सम्बन्धित निकाय समक्ष समन्वय गरी परिचय(सुरक्षा)पत्र बिगतमा सिमित उपलब्ध गराइएता पनि प्रयाप्त नभएकोले उक्त कार्यलाई अझै शशक्त गराउनको निम्ती पहल गर्न सम्बन्धित निकाय तथा सरोकारवालाहरुलाई ध्यानाकर्षण र पहल गर्नको निम्ती हामी संस्थागत अनुरोध गर्दछौं ।

.साउदी अरबमा काम गर्ने नेपालीको जीवन रक्षा: बैदेशिक रोजगारिको शिलशिलामा साउदी अरबमा आई सडक दुर्घटनामा परि मृत्‍युवरण गरेका, कामको दौरान अन्य दुर्घटनामा परि अंगभंग भएका, काम गर्ने शिलशिलामा जान अन्जानमा बिभिन्न केसहरुमा फसी जेल जीवन बिताइरहेका नेपालीहरुको संख्या उल्लेख्य रहेकोछ। यी र यस्ता मारमा परेका श्रमिकहरुको जीवन रक्षार्थ विवरण संकलन गरी उध्दार,राहत तथा क्षतिपूर्तीको ब्यबस्था गर्नको निम्ती नेपाल सरकारको सम्बन्धित निकायसंग यथा सम्भव समन्वय गरी कार्यन्वयन गर्नको निम्ती हामी संस्थागत अनुरोध गर्दछौं।

७.दक्ष जनशक्ती तथा बिदेशमा सिप सिकेर नेपाल फर्केका नेपाली श्रमिकको ब्यबस्थापन: नेपाली कामदारहरु:विशेषगरी रोजगारीका सिलसिलामा खाडि मुलुकमा आउने श्रमिकहरुलाई सुरक्षित,मर्यादित र सम्मानजनक रोजगारीका लागि बिदेश पठाउनु पूर्व नेपालमा सीप मुलुक तालिमको ब्यबस्था,अभिमुखिकरण तालिम, सम्बन्धित देशको नियम कानुन सम्बन्धी ज्ञानको तालिम गरेर मात्र बिदेश पठाउने ब्यबस्था र बिदेशमा सिप सिकेर नेपाल फर्केका नेपालीहरुको नेपालमै रोजगारिको ब्यबस्था गर्नको निम्ती नेपाल सरकार, सम्बन्धित निकाय र सरोकारवालाहरुलाइ विशेष चासो एवम् ध्यानाकर्षणका लागि हामी संस्थागत अनुरोध गर्दछौं ।

८.नेपाली महिला कामदारहरुको सुरक्षा र ब्यबस्थापन: नेपाल सरकारले खाडी मुलुकमा जाने घरेलु महिला कामदारको निम्ती रोक लगाएपनी छिमेकी देश भारत लगायत अन्य तेस्रो मुलुक हुदै साउदी अरब छिरेका नेपाली घरेलु महिला कामदारहरुको संख्या दिनानुदिन बडदो छ। साउदी अरबमा रहेका केही म्यान पावर ब्याबसायी तथा बिचौलिया संगको मिलिमतोमा नेपालमा रहेका म्यानपावर ब्याबसायीहरु र बिचौलियाहरुले अन्य देश मार्फत नेपाली महिला साउदी भित्र्याउने गरेको पाइएको छ। यस्ता अबैध कार्य गर्नेहरु बिरुध्द कडा कारबाही गर्दै रोक लगाउनुको साथै तत्काल समस्या समाधानको निम्ती नेपाल सरकारको सम्बन्धित सरोकारवाला निकाय संग हामी संस्थागत जोडदार अनुरोध गर्दछौं।

९.नेपाली श्रमिकहरुको न्युनतम ज्यालाको मापदन्ड: नेपाली राजदूतावास/महावाणिज्यदूतावासको विशेष पहलमा नेपाली कामदारहरुको न्युनतम तलवको पछील्लो मापदण्ड सराहनीय रहेतापनी कयौं रोजगारदाता कम्पनीहरुले त्यसलाई कार्यान्वयन गरेका छैनन्। नेपालका म्यानपावर ब्याबसायीहरुले बनाएका झुटा सम्झौता पत्र जो साउदी अरबमा पुग्ने बित्तिकै खोसिन्छन र च्यातिन्छन अनी नेपालीले नबुझ्ने अरबी भाषामा अर्को सम्झौता पत्रमा हस्ताक्षर गराउने गर्दछन जसको कारण कैयौं रोजगारदाता कम्पनिले कार्यन्वयन गर्नुको सट्टा भने बमोजिमको तलब, सेवा सुबिधा दिन बाट बन्चित गरेका छन्। त्यस्ता कम्पनीहरुको अभिलेख र तथ्यांक संकलन गरि थप निगरानी बढाउंदै साउदी पठाउनु पूर्व डिमाण्ड पत्र प्रमाणिकरणमा सम्बन्धित निकायले प्रमाणिकरण गरी बैदेशिक रोजगार बिभागमा प्रत्येक नेपालीको अभिलेख सुरक्षित राख्दै न्यायोचित ब्यबस्थापन गर्नको निम्ती हामी संस्थागत माग गर्दछौं।

१०.दक्ष कामदारहरुको पैठारी: नेपालमा अ-दक्ष (लेबर) कामदार मात्रै पाईन्छन भन्ने संकुचित मान्यता राखि साउदीबाट अधिकांश रोजगारदाता कम्पनिले त्यस्तै कामदारका लागि मात्रै माग गरेको पाइने गरेको छ। त्यसका लागि नेपाली राजदुतावास, एवम् नेपाल सरकारले साउदीका रोजगारदाता कम्पनी तथा सम्बन्धित निकाय हरुसँग समन्वय गरि नेपालबाट दक्ष कामदारहरु (डक्टर,नर्स, ईन्जिनियर आदि) साउदिको श्रमबजारमा भित्र्याउनका लागि पहल गर्न हामी संस्थागत अनुरोध गर्दछौं ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!