श्रम मन्त्रालयको गैर जिम्मेवारीपन:अभिमुखीकरण तालिम संचालन कार्यविधिमा त्रुटी नै त्रुटी

Posted on: 24 Feb, 2020

मनोज पराजुली । फागुन १२, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको अभिमुखीकरण तालिम संचालन कार्यविधि, २०७६ मा गम्भीर त्रुटी गरेको पाइएको छ ।

अभिमुखीकरण तालिम संचालन गर्ने संस्था दर्ता तथा नवीकरण सम्बन्धी कार्यविधि, २०७१ र निर्णय पूर्वको अभिमुखीकरण तालिम संचालन सम्बन्धि कार्यविधि, २०७२ लाई खारेज गरि २०७६ मा जारी गरिएको कार्यविधिमा गम्भीर त्रुटी नै त्रुटी भेटिएको हो । 

श्रम मन्त्रालयद्वारा गत साउन ८ गते स्वीकृत भई लागू भएको कार्यविधि निर्माणमा चरम लापरवाही गरिएको पाइएको छ । कतिसम्म कि, केहि बुंदा नम्बर नै छैन, भने केहीको बाँकि अम्श अर्को बुंदामा छ, भनिएको छ तर त्यसमा अघिल्लो अनुसार जानकारी नै समेटिएको छैन । तरपनि यो कार्यविधि हाल कार्यन्वयनमा रहेको छ । 

श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार वोर्ड कुनैको पनि वेबसाइटमा यो कार्यविधि राखिएको छैन । यस कार्यविधि अध्ययन गर्न चाहनेले जो कोहिले सहजै भेट्न सक्ने छैनन् किनकी मन्त्रालयको लापरवाहीले त्रुटीपूर्ण रहेको कार्यविधि गुपचुप राखिएको छ । आखिर के के छन् त, कार्यविधिमा त्रुटी ?

त्रुटी नम्बर १.

दफा ११. पूर्वाधार तयार गर्नुपर्ने : 

दफा ८ को उपदफा (२) बमोजिम निवेदन दिने सस्थाले दफा १२ बमोजिम संचालन अनुमति प्राप्त गर्नु अघि अनुसूची -२ बमोजिम भौतिक पूवाधार तयार गर्नुपर्नेछ उल्लेख छ तर दफा ८ को उपदफा २ कार्यविधिमा नै राखिएको छैन । दफा ८ मा प्रशिक्षकको योग्यता मात्र तोकिएको छ ।

त्रुटी नम्बर २. 

दफा ११ मा पूर्वाधार तयार गर्नुपर्ने अन्तर्गत संस्थाले दफा १२ बमोजिम तालिम संचालन गर्ने अनुमति प्राप्त गर्नु अघि अनुसूची २ बमोजिम भौतिक पूर्वाधार तयार गर्नुपर्नेछ लेखिएको छ तर कार्यविधिको दफा १२ मा भौतिक पूर्वाधार बारे कुनै उल्लेख नै छैन, केवल पूर्वाधार निरिक्षण सम्बन्धी व्यवस्था मात्र गरिएको छ । 

कार्यविधिमा तालिम प्रदायक संस्थाको निरिक्षण सम्बन्धी फरक व्यवस्था गरिएको छ । काठमाडौं उपत्यका र उपत्यका बाहिरको लागि फरक/ फरक तहका कर्मचारीले अनुगमन गर्न सक्ने व्यवस्था गरिएको छ । काठमाडौंको लागि उपसचिव स्तरको कर्मचारीले गर्ने तर उपत्यका बाहिर कार्यालय प्रमुख वा अधिकृत स्तरको कर्मचारीले निरिक्षण गर्ने व्यवस्था राखिएको छ । एकै प्रकृतिको संस्थालाई फरक/ फरक तहका कर्मचारीले निरिक्षण गर्ने व्यवस्था गरिएको छ । 

कार्यविधिमा तालिम दिने प्रक्षिक्षकको लागि न्युनतम योग्यता १२ कक्षा पास राखिएको छ, अघिल्लो कार्यविधिमा स्नातक पास हुनुपर्ने व्यवस्था रहेको थियो । त्यस्तै हालको कार्यविधि समय सापेक्ष समेत रहेको छैन । वैदेशिक रोजगार सूचना प्रणाली कार्यन्वयनमा आई श्रम स्वीकृतिका सम्पूर्ण प्रक्रिया अनलाइन प्रणालीमा गएको छ तर यस कार्यविधिले ती विषय समेट्न सकेको छैन ।

कार्यविधिको दफा ४ मा तालिम संचालन सम्बन्धी उल्लेख छ । जसको बुंदा २ अन्तर्गत प्रशिक्षार्थिले तालिम कक्षामा उपस्थित र पस्थान समयको विधुतीय हाजिरीको दैनिक अभिलेख राखी तालिम अवधि समाप्त भए पश्च्यात संयोजकबाट प्रमाणित गराई अनलाइन माध्यमबाट सचिवालय र विभागमा पठाउनुपर्ने उल्लेख छ तर हाल वैदेशिक रोजगार विभागले संचालनमा ल्याएको वैदेशिक रोजगार सूचना प्रणालीमा यी अपडेट गराउने कुनै विकल्प नै छैन । यस बारे वैदेशिक रोजगार नियमावलीमा कुनै व्यवस्था नै छैन। 

त्रुटी भेटियो, सुधार गर्दैछौं : मन्त्रालय 

श्रम मन्त्रालयले अभिमुखीकरण तालिम संचालन कार्यविधि, २०७६ मा त्रुटी देखिएको भन्दै संसोधन प्रक्रिया शुरु गर्ने बताएको छ । हालको कार्यविधिमा केहि त्रुटी भेटिएकाले संसोधनको लागि प्रक्रियामा रहेको मन्त्रालयका सहसचिव एवं रोजगार समन्वय महाशाखा प्रमुख उमेश ढुङ्गानाले बताए ।

हेर्नुहोस् कार्यविधि 




 


यस बिषयमा तपाइको प्रतिक्रिया...!