मध्यपूर्वी मुलुकका राजदूतहरुसँग परराष्ट्रमन्त्री र श्रममन्त्रीको भिडियो कन्फरेन्स

Posted on: 23 Mar, 2020

चैत १०,  काठमाडौँ ।  कोरोना भाइरसको असरबारे खाडी मुलुकमा रहेका राजदूत र नियोग प्रमुखहरूसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलेले भिडियो कन्फरेन्स गरेका छन् ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव र असरबारे खाडी मुलुकका सरकारले के-के सुरक्षा सतर्कता अवलम्बन गरेका छन् भन्नेबारे नेपाली राजदूतहरूसँग एकसाथ २ मन्त्रीले आज (सोमबार) भिडियो कन्फरेन्सबाट जानकारी लिएका हुन् ।  


भिडियो कन्फरेन्समा कतार, साउदी, ओमान, युएई, बहराइन, इजिप्ट, इजरायल, दक्षिण आफ्रिकाका कूटनीतिक नियोगका अधिकारीहरु सहभागी भएका थिए । कन्फरेन्समा त्यस क्षेत्रमा रहेका नेपालीहरुको अवस्था बारे पनि जानकारी लिइएको श्रममन्त्री यादवले साझा सबाललाई  जानकारी दिए ।  त्यस्तै राजदूत तथा नियोगका प्रमुखहरूलाई सम्बन्धित सरकार, रोजगारदाता र नेपाली समुदायसँग निरन्तर सम्पर्क, सहयोग र समन्वय गर्न पनि मन्त्री ज्ञवालीले निर्देशन दिएका छन् । 

विदेशमा रहेका नेपालीलाई कुनै किसिमको समस्या नहोस्, दु:खको अनुभूति हुने अवस्था नआओस भन्नका लागि नेपाल सरकार उनीहरुको साथमा छ, भन्ने संदेश राजदुत मार्फत दिईएको मन्त्री यादवले जानकारी दिए ।  रोजगारदाता कम्पनीसंग नियमित सम्पर्कमा रहेर नेपालीहरुको अवस्थालाई ध्यान दिई उनीहरुको समस्यालाई सम्बोधन गर्न राजदुतहरुलाई अनुरोध गरिएको मन्त्री यादवले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!