साउदीमा ४ नेपाली कामदारलाई कोरोना संक्रमण

Posted on: 05 Apr, 2020

चैत २३, काठमाडौँ | साउदीमा कार्यरत ४ नेपाली कामदारलाई कोरोना संक्रमण भएको छ । साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ देखिएको विवरण आइतबार उपलब्ध गराएको हो । संक्रमितहरुको व्यक्तिगत विवरण भने खुलाईएको छैन । 

आइतबारको पछिल्लो रेकर्ड अनुसार साउदीभर कोरोना भाइरसबाट संक्रमितको संख्या २३ सय ७० छ । शनिबार मात्र १४० जनामा कोरोना संक्रमण देखिएको थियो । साउदी स्थित नेपाली दुतावासले शनिबार एक सूचना जारी गर्दै राजधानी रियादमा मात्र ६६ जनामा संक्रमण भएको जानकारी गराएको थियो । सूचना अनुसार कूल संक्रमितहरुमध्ये हालसम्म ४२० जना निको भएका छन् । साउदीमा कोरोनाको कारण हालसम्म २९ जना संक्रमितको मृत्यु भएको छ । 

दूतावासका अनुसार कोरोना भाइरसको संक्रमण रोक्न साउदी सरकारले शनिबारबाट लागू हुने गरी जेद्दाका विभिन्न क्षेत्रमा २४ घण्टे कर्फ्यू जारी गरेको छ । रियाद र दमाम क्षेत्रमा दिउँसो ३ देखि बिहान ६ बजेसम्म मात्रै कर्फ्यू लगाएको छ । शनिबारको सूचना अनुसार दूतावासले कर्फ्यूको समयलाई पूर्ण पालना गर्नु नेपाली समुदायलाई आग्रह गरेको छ ।

दुतावासले आवासीय परिचयपत्र (अकामा) को म्याद सकिएका कामदारको अकामा तीन महिनाका लागि स्वत: नवीकरण हुने समेत जानकारी दिएको छ । सूचना अनुसार मार्च १८, २०२० वा सो पछि अकामाको म्याद सकिएकाहरु र जून ३०, २०२० सम्म म्याद सकिनेहरुका लागि यो सुविधा उपलव्ध हुनेछ । यो व्यवस्थाले साउदी भित्र वा बाहिर भएका सबैलाई समेट्ने निर्देशकको कार्यालयले जनाएको छ ।अकमाको स्वतः नवीकरणको जानकारी टेलिफोनमा सन्देश पठाई गरिने समेत व्यवस्था गरिएको उक्त सूचनामा उल्लेख छ ।

दुतावासको सूचना यहाँ क्लिक गरि हेर्नुहोस् 

यस बिषयमा तपाइको प्रतिक्रिया...!