कोरियामा रहेका नेपालीले पठाए चार हजार थान कोरोना परीक्षण कीट, तीन घण्टामा नतिजा दिन्छ

Posted on: 10 Apr, 2020

चैत २८, काठमाडौँ | गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरियाले चार हजार थान कोरोना परीक्षण गर्ने कीटसहित अन्य स्वास्थ्य उपकरण नेपाल पठाएको छ । एनआरएनए कोरियोका संयोजनमा सङ्कलन गरिएका चार हजार किट र पाँचसय थान हाइ सेन्सेटिभ कोभिड किट्स (एचपीपीई) सेट कोरियन नेपाल पठाइएको सङ्घले जनाएको छ । कोरियन एयरलाइन्सको विमान चार्टर्ड गरेर ती सामग्री नेपाल पठाइएको हो । स्वास्थ्य सामग्री बोकेको उक्त जहाज आज अपराह्न नेपाल आइपुग्ने बताइएको छ । 

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको संयोजन तथा त्यहाँ रहेका अभियन्ताको सहकार्यमा सहयोग सङ्कलन अभियान सञ्चालन भएको थियो । अभियान शुरु गरेको चार दिनमै रु एक करोड ४० लाख ७९ हजार ७७५ सङ्कलन भएको एनआरएन दक्षिण कोरियाका महासचिव विमल सुवेदीले जानकारी दिनुभयो ।

मातृभूमिमा परेको विपतको घडीमा सहभागी भई प्रतिव्यक्ति २० हजार वोन बराबरको किट खरिद गरी सहयोग गर्न कोरियावासी नेपालीलाई एनआरएनएले आग्रह गरेको थियो । कोरियामा उत्पादित कीटले कोरोना लागे/नलागेको तीन घण्टामा नतिजा दिने बताइन्छ । यसको मूल्य प्रतिकीट २० डलर पर्छ । पहिलो चरणमा ४२ हजार भन्दा डलर बढीको कीट र २४ लाख रुपैयाँ बराबरको पीपीईलगायतका सामान नेपाल पठाइएको हो ।

कीटका लागि कोरियामा रहेको सम्बन्धित कम्पनीसँग सम्झौता भएलगत्तै कीट खरिद गरी बिहीबार दक्षिण कोरियाका कार्यवाहक नेपाली राजदूत रामसिंह थापालाई हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो । यसैगरी दोस्रो चरणमा अन्य अत्यावश्यक सामग्री तथा उपकरण पठाउने तयारी रहेको महासचिव सुवेदीले जानकारी दिनुभयो । दोस्रो चरणको सहयोग चार्टर्ड विमानको अभावमा चीनको ग्वाङझाउस्थित नेपाली नियोगमा रहेको र अनुकूलता अनुसार नेपाल पठाइने एनआरएनएले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!