विदेशबाट लकडाउन पछि सबैभन्दा धेरै नेपाली हिजो स्वदेश फर्किए, आज कुन कुन देशबाट आउंदैछन् ?

Posted on: 22 Jun, 2020

असार ८, काठमाडौँ । कोभिड -१९ का कारण विभिन्न देशमा समस्यामा परेका १५ सय ५१ जना नेपाली स्वदेश फर्किएका छन् । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि हिजो सबैभन्दा धेरै नेपाली स्वदेश फर्किएका हुन् ।

विभिन्न देशमा समस्यामा रहेकाहरु ८ चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् । हिजो सबैभन्दा धेरै यूएईबाट तीन उडानमार्फत पाँच सय ९७ जना नेपाली स्वदेश फर्किएका छन् ।

साउदीको रियादबाट १ बच्चासहित २४६ जना, कतारको दोहाबाट तीन बच्चासहित १४६ जना, कुवेतबाट पाँच बच्चासहित १६१ जना, बंगलादेशको ढाकाबाट २४५ जना, मलेसियाबाट १५६ जना स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

आज पनि आउंदै 

आज बहराइनबाट पहिलो उडानमार्फत १५० जना नेपाली स्वदेश आइपुगेका छन् । कोरोनाको कारण बहराइनमा समस्यामा परेका नेपालीहरु नेपाल एअरलाइन्सको चार्टर्ड जहाजमार्फत स्वदेश फर्किएका हुन् । जहाजमा तीन नेपालीको शव पनि ल्याइएको छ ।

यूएईबाट एअर अरेबियाको चार्टर्ड जहाजमार्फत नेपालीहरु फर्कंदै छन् भने पाकिस्तानमा रहेका नेपाली लिन हिमालय एअरलाइन्स त्यसतर्फ गइसकेको छ । हिमालयले ५६ जना पाकिस्तानी नागरिक र १६ जना नेपाली लिएर गएको छ । फर्कंदा कति नेपाली ल्याउँछ भन्ने यकिन नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । 

यस्तै आज माल्दिभ्सबाट पनि त्यहाँ समस्यामा रहेका नेपाली फर्कंदैछन् भने कुवेतले जजिरा एअरमार्फत त्यहाँ आममाफीमा सहभागी नेपालीलाई ल्याइदिनेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!