कुवेतमा समस्यामा परेका १८ सय ६९ नेपालीहरू स्वदेश फर्किए

Posted on: 25 Jun, 2020

असार ११, काठमाडौँ । कुवेतमा कोभिड- १९ कारण समस्यामा परेका १८ सय ६९ नेपालीहरू स्वदेश फर्किएका छन्  । कुवेतस्थित नेपाली दुतावासका अनुसार हालसम्म १२ वटा उडान मार्फत १८ सय ६९ नेपालीहरू स्वदेश फर्काउने कार्य सम्पन्न भएको छ ।

हालको असहज अवस्थाका कारण स्वदेश फर्कनै पर्ने अवस्थामा रहेका गर्भवती महिला, कोरोना बाहेकका गम्भीर रोग लागि विरामी परेकाहरु, नजीकको नातेदारको मृत्यु भइ मृत्यु संस्कारका लागि नेपाल जानु पर्ने व्यक्तिहरु, अपांगता भएका लगायतका व्यक्तिहरु स्वदेश फिर्ता भएका दुतावासले जनाएको छ ।


कुवेतमा विभिन्न समस्यामा परेका नेपालीहरूको उद्दारको लागि २५ जून २०२० का दिन इतिहासमा नै पहिलो पटक नेपाल एयरलाइन्सको उडान नम्बर RNA2377/2378 को चार्टर्ड विमानद्वारा १४९ नेपालीहरू स्वदेश फिर्ता गर्ने कार्य सम्पन्न भएको छ ।

यस अघि  मिति २४ जून २०२० का दिन नेपालकै निजी क्षेत्रको विमान कम्पनी हिमालय एयरलाइन्सको उडान नम्बर H95714 को विमानद्वारा १५५ जना नेपालीहरू स्वदेश फर्कने कार्य सम्पन्न भएको थियो ।

हालसम्म नेपालका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले १-१ वटा उडान मार्फत जम्मा ३०४ जना र कुवेतको जजिरा एयरवेजले कुवेत सरकारले भिसा उल्लङ्घन गर्नेका लागि घोषणा गरेको आममाफी कार्यक्रममा सहभागी भएकाहरूका लागि संचालित १० वटा गरी जम्मा १२ वटा उडानबाट नेपालीहरु स्वदेश फर्काउने कार्य सम्पन्न भएको दुतावासले जनाएको छ ।


समस्यामा परी हवार्इ उडानबाट नेपाल प्रस्थान गर्ने नेपालीहरूलार्इ राजदूत, अन्य कूटनीतिक अधिकारी तथा राजदूतावासका कर्मचारीहरूबाट सहजीकरण तथा विदार्इ गर्ने कार्य भएको थियो ।

कुवेतमा समस्यामा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूलार्इ स्वदेश फिर्तीको कार्य आउँदा दिनहरूमा समेत निरन्तर जारी रहने दुतावासले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!