युएईमा कार्यरत १ लाख नेपालीको रोजगारी गुग्यो !

Posted on: 02 Jul, 2020

असार १८, काठमाडौं। गैर आवासिय नेपाली संघ (एनआरएनए), युएई अध्यक्ष प्रकाश कोइरालाले युएईमा सम्भवतः १ लाख नेपालीले रोजगारी गुमाइसकेको बताएका छन् । युएईको अनलाइन गल्फ न्यूजका अनुसार कोभिड १९ का कारण ति नेपालीको रोजगारी गुमेको हो । यसरी रोजगारी गुमाउने मध्ये अधिकाँश सेवा, सुरक्षा, सुपरमार्केट तथा यातायात क्षेत्रमा काम गर्नेहरु रहेको बताइएको छ ।

हालसम्म युएईबाट स्वदेश फर्किन ३० हजार नेपालीले युएई स्थित नेपाली दूतावासमा निवेदन दिइसकेको र उनीहरुलाई स्वदेश फिर्ता गर्न उडान व्यवस्थापन भइरहेको समेत कोइरालाले बताए । उनले सेवा, सुरक्षा तथा यातायात र अझ विशेषगरी ट्याक्सी बन्द हुँदा ठूलो संख्यामा नेपालीले रोजगारी गुमाउनु परेको समाचारमा उल्लेख छ ।

विदेशबाट यात्रु आउन रोकिएपछि सेवा क्षेत्र तथा सुरक्षा क्षेत्रमा कार्यरत नेपालीले रोजगारी गुमाएका हुन् । फेब्रुअरीमा तलव पाएकाहरुले आफूले पाएको तलवको ७० प्रतिशत रकम स्वदेश पठाएको र ३० प्रतिशतले मार्चमा सहज रुपमा बसेपनि अप्रिल महिनामा भने उनीहरु समस्यामा परेको कोइरालाको भनाई छ । त्यसैले समस्यामा परेकाहरुलाई समुह बनाएर नै सहयोग गरिएको तथा खाद्यान्न लगायतका बस्तु वितरण गरिएको कोइरालाले बताए ।

“मेरो अनुमानमा युएईमा रहेका ४ लाख मध्ये १ लाख नेपालीको रोजगारी गुमेको छ”, कोइरालाले भने “हामीले ७ हजार नेपालीलाई यसबीचमा खाद्यान्न लगायतका बस्तु वितरण गरेका छौं ।” त्यसरी उपलव्ध गराएको राहतले एकजनालाई १५ दिन पुग्ने उनले बताए । युएईबाट हालसम्म २ हजार नेपाली स्वदेश फर्किसकेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!