शनिबार पनि पुन: श्रम स्वीकृति दिइने, हवाई टिकट लिएकाहरु प्राथमिकतामा

Posted on: 03 Jul, 2020

मनोज पराजुली । असार १९, काठमाडौं । वैदेशिक रोजगारीका लागि भोलि (असार २० गते) शनिबार पनि पुन: श्रम स्वीकृति दिइने भएको छ । वैदेशिक रोजगारीका लागि विहिबारबाट पुन: श्रम स्वीकृति प्रदान गर्ने निर्णय भएसंगै सेवा शुरु गरिएपनि शुक्रबार दिनभर प्राविधिक समस्याका कारण सेवाग्राहीले श्रम स्वीकृति पाएका थिएनन् ।

शुक्रबार दिनभर प्रयास गर्दा पनि सेवा दिन नसकिएकोले भोलि शनिबार कार्यालय खोलेर पुन: श्रम स्वीकृति दिन लागिएको वैदेशिक रोजगार विभाग अन्तर्गत काठमाडौं कार्यालय ताहाचलका प्रमुख उमेश बस्नेतले साझा सबाललाई जानकारी दिए । शुक्रबार फारम भरेर सेवा लिन नसकेका तथा हवाई टिकट लिईसकेर श्रम स्वीकृति लिन बाँकि रहेकाहरुको लागि भोलि शनिबार पुन: श्रम स्वीकृति दिन लागिएको बस्नेतले जानकारी दिए । 

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगनको निर्देशन दिएको थियो । उक्त निर्देशन पश्च्यात विभागले गत फागुन ३० गतेदेखि वैदेशिक रोजगारीमा जाने, घर विदामा नेपाल आएका तथा नयाँ श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको थियो । 

असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड-१९ परिक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकलको पालाना गर्ने गरि वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको हो । बैठकले यस पूर्वको करार अवधि समाप्त भई पुन: करार नवीकरण गरेका र भिषाको समेत म्याद थप भएका व्यक्तिले आवश्यक कागजातहरु सहित निवेदन दिएमा कोभिड-१९ परिक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकलको आधारमा पुन: श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । 





यस बिषयमा तपाइको प्रतिक्रिया...!