म्यानपावर व्यवसायीले मंगलबारदेखि गर्ने भनिएको चरणवद्ध आन्दोलन स्थगित

Posted on: 06 Jul, 2020

असार २२, काठमाडौँ । म्यानपावर व्यवसायीका समस्या समाधान नभएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मंगलबारदेखि गर्ने भनेको आन्दोलन स्थगित गरेको छ । संघले सोमबार साँझ एक बिज्ञप्ति जारी गर्दै आन्दोलनको कार्यक्रम स्थगित गरिएको जनाएको छ । 

संघले आन्दोलनको कार्यक्रम स्थगित गरिनुको कारण उल्लेख गर्दै आफूहरुले जुन मागको लागि आन्दोलनको घोषणा गरेको थियो उक्त माग पुरा हुने चरणमा रहेको जानकारी पाएको जनाएको छ ।  विज्ञप्तिमा भनिएको छ '२०७७ असार २३ देखि चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेकोमा सम्बन्धित निकायबाट यो प्रावधान हटाउने (संसोधन गर्ने) कार्य अन्तिम चरणमा रहेको जानकारी पाएकोले हाललाई आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैलाई अवगत गराइन्छ । 

यस अघि आजै संघले आर्थिक वर्षको अन्तिम समयमा आइपुग्दा ५ सय ३१ म्यानपावर नवीकरण नहुने अवस्था आएकोले मंगलबारबाट (भोलि) चरणवद्ध आन्दोलनको घोषणा गरिएको संघका महासचिव सुजित कुमार श्रेष्ठले साझा सबाललाई बताएका थिए ।

हेर्नुहोस् बिज्ञप्ति


सरकारले बि. स. २०७५ फागुन १९ गते वैदेशिक रोजगार ऐन, २०६४ संसोधन गरि म्यानपावर कम्पनी नवीकरण गर्नको लागि पछिल्ला २ आर्थिक वर्षमा सय जना कामदार अनिवार्य विदेश पठाउनुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । सोहि व्यवस्था अनुसार नवीकरण गर्नका लागि संचालनमा रहेका ८ सय ५३ म्यानपावर कम्पनी मध्ये ५ सय ३१ म्यानपावरले सय जना कामदार विदेश पठाउन सकेका छैनन् । 

५ सय भन्दा धेरै कम्पनीले पछिल्ला २ आर्थिक वर्षमा वार्षिक सय जनाभन्दा बढी कामदार विदेश पठाउन सकेका छैनन् जसको कारण हालको प्रावधानमा ५ सय बढी म्यानपावर कम्पनी नवीकरण हुने अवस्था छैन । आर्थिक बर्ष सकिनै लाग्दा वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीको नवीकरण प्रक्रिया शुरु गरिसकेको तर प्रावधानका कारण आधाभन्दा बढी म्यानपावर कम्पनी नवीकरण हुन नसक्ने अवस्था रहेको छ ।

प्रावधानमा तोकिएजस्तो कम्तिमा १०० जना कामदार पठाउनुपर्ने कुरा बिभिन्न कारणले प्रभावित भएको व्यवसायीहरुले बताएका छन् । गतवर्ष मलेसिया रोजगारी १७ महिना बन्द हुनु तथा गत चैतदेखि कोरोना महामारीको कारण वैदेशिक रोजगारीमा कामदार पठाउन नपाएको व्यवसायीहरुले बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!