१०० भन्दा कम कामदार पठाउने म्यानपावर पनि नविकरण हुने

Posted on: 10 Jul, 2020

असार २६, काठमाडौं | एक सय भन्दा कम कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीको पनि नविकरण हुने भएको छ । कोभिड–१९ का कारण वैदेशिक रोजगारमा कामदार पठाउने अवस्था नरहेपछि बाधा अडकाउ फुकाउमार्फत सय भन्दा कम कामदार पठाउने म्यानपावरहरु नवीकरण हुने भएको हो । 

बार्षिक एकसय भन्दा कम कामदार पठाउने म्यानपावर कम्पनी स्वत: खारेज हुने कानुनी व्यवस्था छ तर कोरोना संक्रमणको अवस्था र त्यसअघि मलेसिया रोजगारी बन्द हुनुले पाँच सय भन्दा बढी म्यानपावर कम्पनीले सय जना पनि कामदार पठाउन नसकेको भन्दै त्यस्ता म्यानपावर कम्पनीहरु पनि एक बर्षको लागि नवीकरण गर्ने निर्णय भएको छ ।    

एक वर्षका लागि सबै म्यानपावर कम्पनीको नविकरण गर्ने व्यवस्था गर्न लागिएको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा उपस्थित भएका मन्त्री यादवले कानूनमा न्यूनतम एकसय जना कामदार पठाए मात्र नविकरण हुने व्यवस्था रहेको र अहिलेको परिस्थितिका कारण कानून मन्त्रालयको सल्लाह बमोजिम बाधा अड्काउ फुकाउबाट नविकरण गर्ने गरी प्रस्ताव मन्त्री परिषदमा पठाउन लागिएको बताएका छन् । मन्त्री यादवका अनुसार कानून मन्त्रालयको सहमति अनुसार नवीकरणको काम अघि बढाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!