कतारबाट २४ सय नेपाली स्वदेश फर्किए, अर्को उडान जुलाई १७ मा हुने

Posted on: 14 Jul, 2020

योगेन्द्र योगी | असार ३०, दोहा | कोरोना भाइरसका कारण लगायत विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये २ हजार ४ सय ६  जना नेपाली नागरिकहरू स्वदेश फर्किएका छन् । 

यस्तै कतारमा विभिन्न कारणले मृत्यु भएकाहरू मध्ये कतारस्थित नेपाली दूतावासले कागजी प्रकृया पुरा गरी अन्तिम संस्कारको लागि ३६ जनाको शव स्वदेश पठाएको दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिएका छन् । 

नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा कतारबाट गत जुन २१ तारीख देखि चार्टर्ड उडान सुरू भएको थियो भने जुलाई १०  मा नेपाल एयरलाइन्सले दोहाबाट अन्तिम उडान गरेको थियो । 

दूतावासका अनुसार अलपत्र परेका स्वदेश फिर्ताका लागि १० हजार बढीले अनलाइन तथा टेलिफोन सम्पर्क गरी नेपाल फर्किन फारम भरेका छन् । 

सचीव भट्टराईले दिएको जानकारी अनुसार दोश्रो चरणको उडान यही जुलाई १७ मा नेपाल र हिमालय एयरलाइन्सले उडान गर्ने तय भएको छ । यस्तै जुलाई १८ र २० मा पनि हिमालय एयरलाइन्सले दुई र नेपाल एयरलाइन्सले दुई वटा उडान गर्ने छ भने कतारबाट दोश्रो चरणमा ६ जहाजले उडान गर्ने उनले बताए । 

कतारमा हालसम्म कोरोनाबाट १ लाख ४ हजार १६ जना संक्रमित भएका छन् । हालसम्म १ लाख ६ सय २७ जना निको भएर घर फर्किएका छन् भने हालसम्म १ सय ४९ जनाको कोरोनाबाट मृत्यु भैसकेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!