विदेशबाट ३१ हजार नेपाली स्वदेश फर्किए, टिकट काट्न पैसा नहुनेहरु अझै विदेशमै अलपत्र

Posted on: 19 Jul, 2020

साउन ४, काठमाडौं । सरकारले विदेशमा समस्यामा रहेका नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उडान सुरु गरेपछि हवाईमार्गबाट झण्डै ३१ हजार नेपाली स्वदेश फर्किएका छन् । शनिबारसम्म  १९९ वटा फ्लाइटबाट ३० हजार ९४० नेपाली स्वदेश फर्किएका छन् । 

सबैभन्दा धेरै यूएईबाट नेपाली फर्किरहेको देखिन्छ । शनिबारसम्म ७ हजार १९६ जना नेपाली यूएईबाट फिर्ता भएका छन् । कुवेतबाट ५ हजार ५४९ जना र साउदी अरेबियाबाट ५ हजार ५५ जना फर्किएका छन् । कतारबाट ३ हजार ३२९ र मलेसियाबाट ३ हजार २ सय २६ नेपाली स्वदेश आएका छन् । बहराइनबाट ९८०, बंगलादेशबाट ८४१, जापानबाट ७५६, माल्दिभ्सबाट ७०९, अष्ट्रेलियाबाट ६३४ जना नेपाली चार्टर्ड उडानको टिकट काटेर फर्किएका छन् ।

ओमानबाट ४९२, दक्षिण कोरियाबाट ४७६, अमेरिकाबाट ४२३, थाइल्यान्डबाट ३२६, बेलायतबाट २२९ जना नेपाली स्वदेश फिर्ता भएका छन् । सिंगापुरबाट १४६, इजरायलबाट १२७, फिलिपिन्सबाट १०८ र चीनबाट १०५ जनालाई फर्काइएको छ । अफगानिस्तान, म्यान्मार, श्रीलंका, हङकङ, पाकिस्तान र टर्कीबाट पनि नेपालीहरु फर्किएका छन् ।

सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई चार्टर्ड उडानको जिम्मा दिएको छ । सरकारले जेठ २३ गतेबाट ‘उद्धार उडान’ सुरु गरेको थियो ।

टिकट काट्न नसक्ने विदेशमै अलपत्र 

रोजगारदाता कम्पनीले टिकट दिएका, सम्बन्धित देशले नै टिकट खर्च उपलब्ध गराएका तथा व्यक्तिगत रुपमा टिकट लिएकाहरु स्वदेश फर्किएपनि रकम नहुनेहरु भने अझै विदेशमा नै अलपत्र अवस्थामा रहेका छन् । खर्च नभएर स्वदेश फर्किन नपाएकालाई ल्यौं सरकारले हालसालै विदेशमा अलपत्र नेपालीको उद्धार गर्नेसम्बन्धी निर्देशिका जारी गरेको छ तर कार्यन्वयनमा आउन सकेको छैन । 

समस्यामा रहेका नेपालीलाई सकेसम्म सम्बन्धित कम्पनीकै खर्चमा स्वदेश फर्काउने र सम्भव नभए सरकारले वैदेशिक रोजगार कल्याणकारी कोषको उपयोग गर्ने गरि निर्देशिका तयार गरिएपनि कार्यन्वयनमा आउन नसक्दा सयौं संख्यामा रहेका नेपालीहरु कहिले स्वदेश फर्किन पाइएला भनेर प्रतिक्षामा रहेका छन् ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!