विदेशबाट कोभिड-१९ को महामारी पश्चात ६१ हजार नेपाली स्वदेश फर्किए (हेर्नुहोस् विवरण)

Posted on: 13 Sep, 2020

भदौ २८, काठमाडौं । कोभिड-१९ को महामारी पश्चात हालसम्म भारत बाहेक अन्य मुलुकहरुबाट ६१ हजार ७ सय १० जना नेपाली स्वदेश फर्केका छन् । सरकारले गत जेठ २९ बाट विदेशमा समस्यामा परेका नेपालीलाई चार्टर्ड उडान मार्फत स्वदेश ल्याउने निर्णय गरेको थियो सो पश्च्यात ३ महिनाको अवधिमा सवैभन्दा धेरै बागमती प्रदेशका १६ हजार ८ सय ५१ जना स्वदेश फर्किएको कोभिड १९ संकट व्यवस्थापन केन्दले जनाएको छ ।

भदौ २६ गतेसम्मको तथ्याँक अनुसार हवाई मार्ग हुँदै स्वदेश फर्किनेहरुमा प्रदेश नं १ का १३ हजार २७ जना रहेका छन् भनें प्रदेश नं ५ का १० हजार २ सय ९७ जना रहेका छन् । यसैगरी प्रदेश नम्वर २ का १० हजार ५ सय जना स्वदेश फर्किएका छन् । गण्डकी प्रदेशका ८ हजार ८२ जना फर्केका छन् भने सुदुर पश्चिम प्रदेशका १ हजार ५ सय ७१ जना तथा कर्णाली प्रदेशका १ हजार ३ सय ८२ जना रहेका छन् । कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेशमा भारतबाट स्वदेश फर्किनेहरुको संख्या ठूलो थियो । तर केन्द्रको यो तथ्याँकमा स्थलमार्ग हुँदै फर्किनेहरुको  तथ्याँक समेटिएको छैन ।

फर्किनेमा सवैभन्दा धेरै युएईबाट

कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार यसबीचमा भएका ३ सय ९६ उडान मार्फत फर्केकाहरु मध्ये सवैभन्दा बढी संयुक्त अरव ईमिरेट्स (युएई) बाट फर्किनेहरुको संख्या १७ हजार २ सय ७३ रहेको छ । यसैगरी मलेसियाबाट ९ हजार ५ सय ८९ जना, साउदी अरेवियाबाट ९ हजार २ सय ६ जना तथा कतारबाट ७ हजार ८ सय ७३ जना स्वदेश फर्केका छन् । ओमानबाट ९ सय ७६ जना, दक्षिण कोरियाबाट १ हजार १ सय ६५ जना, बहराईनबाट १ हजार १ सय २८ स्वदेश फर्केको सो केन्द्रले जनाएको छ ।

क्वारेण्टीनमा बस्नेहरु

स्वदेश फर्केका ६१ हजार मध्ये ४४ हजार ४ सय ८१ जना आफ्नै प्रदेशमा गएको, ४ हजार ७ सय ४ जना होटल क्वारेण्टीनमा बसेको देखिएको छ । यसैगरी ६ हजार ९ सय ६८ जना होम क्वारेण्टीनमा बसेको तथ्यांक छ भने ४ हजार ८ सय ६४ जना स्थानीय तहले सञ्चालन गरेको क्वारेण्टीनमा बसेका छन् । स्वदेश फर्केका मध्ये कुल ६६ जना मात्र अस्पतालमा रहनु परेको सो केन्द्रले जनाएको छ ।

सजग रहन आग्रह

गैरआवासीय नेपाली संघ (एनएआरएनए) ले विदेशबाट नेपाल फर्किएकालाई १४ दिन अनिवार्य क्वारेन्टिन बस्न अनुरोध गरेको छ । एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले विदेशमा पीसीआर परिक्षण गराएर नै स्वदेश फर्किने भएपनि स्वास्थ्य सावधानीका लागि नेपाल सरकारले तोकेअनुसार क्वारेन्टिनमा बस्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेका छन् । संक्रमण जुनसुकै बेला पनि हुनसक्ने जोखिम रहेकाले यात्रापछि पनि ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, निरन्तर खोकी लाग्ने जस्ता समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा जचाउन पनि उनले अनुरोध गरेका छन् । यसका साथै स्वदेश फर्कन चाहने नेपालीलाई पनि संयमित भएर आफ्नो उडानको प्रतिक्षा गर्न र त्यसका लागि आवश्यक पीसीआर परिक्षण समयमै गर्न समेत डा. सापकोटाले आग्रह गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!