जिटुजी प्रक्रियाबाट इजरायल जान पाइने, नेपालीले इजरायाली नागरिक सरह सुविधा पाउने

Posted on: 23 Sep, 2020

असोज ७, काठमाडौं । नेपाल सरकार र इजरायल सरकार विच श्रम सम्झौता हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालीको आकर्षक गन्तव्यका रूपमा मानिएको इजरायलसँग श्रम सम्झौता गर्न इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यलाई अख्तियारी दिने निर्णय गरेको पररषट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

नेपाल र इजरायल सरकारको संयन्त्रमार्फत रोजगारीमा पठाउने सकिने गरी सम्झौता हुने उनले बताए । सम्झौता भएलगत्तै नेपाली कामदार सरकारी तबरबाट केयर गिभरमा जान पाउनेछन् । सम्झौता पश्चात नेपाली श्रमिकले इजरायलका नागरिकसरह सेवा सुविधा पाउने उनले बताए । “अब नेपाली श्रमिक जिटुजी प्रक्रियाबाट रोजगारीका लागि इजरायल जान्छन्”, मन्त्री ज्ञवालीले भने ।

नेपालले इजरायलसँग २०७२ साउनमा नेपालबाट केयर गिभर लैजाने सम्झौता गरेको थियो । सो अनुरुप हाल न्यून संख्यामा मात्रै नेपाली श्रमिक इजरायल गएका छन् । केही वर्षदेखि नेपाली कामदार लान बन्द गरेको इजरायलले पछिल्ला समय नेपाली श्रमिक लैजाने चाहना गरेको थियो । 

इजरायलले खेती (एग्रिकल्चर) र सुसारे (केयर गिभर) को क्षेत्रमा विदेशी कामदार भित्र्याउने गरेको छ । इजरायलमा केयर गिभरको संख्या बढी छ र नेपालीहरू पनि धेरै जसो केयर गिभरका रूपमै नै इजरायल गएका छन् ।

इजरायलको कुल जनसंख्याको करिब २० प्रतिशत मुस्लिम छन् । नेपालसहित फिलिपिन्स, श्रीलंका, भारत, रोमानिया जस्ता देशका श्रमिक इजरायलमा केयर गिभरका रूपमा काम गर्दै आएका छन् । अपांग, अशक्त, मानसिक बिरामी एवं वृद्धवृद्धाको हेरविचार गर्नु केयर गिभरको मुख्य काम हो ।

मध्यपूर्वमा रहेको इजरायल यहुदिको देशका रूपमा चिनिन्छ । यहाँ आफ्नो तोकिएको काम सकेर कोठामा फर्कन पाइँदैन । जुन घरमा काम छ त्यही घरमा खाने, बस्ने, सुत्ने व्यवस्था हुन्छ । केयर गिभरको काम एक प्रकारले अस्पतालका नर्सहरूको जस्तै हो । घरको सरसफाइ गर्ने, खाना बनाउने, आफूले हेरविचार गरिरहेका व्यक्तिहरूलाई बिहान–बेलुका घर बाहिर घुमाउन लाने यी सामान्य कुरा केयर गिभरले गर्नुपर्ने काम हुन् । बिरामीको अवस्थामा उतारचढाव आए एम्बुलेन्स बोलाएर अस्पताल समेत लानुपर्ने हुन्छ ।

केयर गिभरलाई इजरायली भाषामा मेतापेल वा मेतापेलेत भनिन्छ जसको अर्थ हुन्छ काम गर्ने मान्छे । इजरायलीहरू मिजासिला र सहयोगी भावनाका हुन्छन् । आफूलाई काममा चित्त नबुझेको कुरा स्पस्ट भन्न पाइन्छ । आफूलाई अन्याय भएको छ, हेपाइ र पेलाइमा परिएको छ भने अदालतको ढोका ढक्ढक्याउन पाइन्छ । चित्त नबुझे काम छोडेर अर्कै काम गर्न सकिन्छ । प्राय: सबैजसो इजरायली शिक्षित, आधुनिक विचारधाराका हुन्छन् । कडा कानुन भएकाले त्यहाँ महिला हिंसाका कुराहरू सुनिँदैन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!