मलेसियामा टप ग्लोव्सका केहि कारखाना केहि समयका लागि बन्द हुँदै

Posted on: 23 Nov, 2020

मंसिर ८, मङ्सिर । विश्वकै ठूलो ग्लोव्स उत्पादक कम्पनी मलेसियाको टप ग्लोव्सका केहि कारखानाहरु केहि समयका लागि बन्द हुने भएका छन् । सो कम्पनीमा काम गर्ने २ हजार भन्दा धेरै श्रमिकलाई कोभिड-१९ (कोरोना भाइरस) को संक्रमण देखिएपछि ति कारखानाहरु केहि समयका लागि बन्द गर्न लागिएको हो ।

बेलायती सञ्चार संस्था रोयटर्सका अनुसार कम्पनीका उच्च अधिकारीले यसका बारेमा सोमवार जानकारी दिएका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारीका कारण ऐतिहासिक रुपमा धेरै नाफा कमाइरहेको सो कम्पनीका केहि कारखाना ठूलो संख्यामा श्रमिकहरुलाई कोभिड देखिएपछि बन्द गर्नुपरेको हो ।

समाचार अनुसार तत्काल २८ वटा कारखाना बन्द हुने भएका छन् । ति कारखानामा काम गर्ने ५ हजार ७ सय ६७ जनाको परीक्षण गर्दा २ हजार ४ सय ५३ जना श्रमिकलाई कोभिड १९ को संक्रमण देखिएको मलेसियाको स्वास्थ्य महानिर्देशक नुर हिसाम अव्दुल्लाले जानकारी दिएका हुन् ।

कोभिड संक्रमण देखिएका सवैलाई अस्पताल भर्ना गरिएको तथा उनीहरुको सम्पर्कमा रहेकाहरुलाई क्वारेण्टीनमा राखिएको जनाएको छ । यसरी संक्रमण देखिएका मध्ये २ हजार ३ सय ६० जना विदेशी श्रमिक रहेको बताइएको छ । बाँकी मलेसियन नागरिक हुन् । स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै केहि समयका लागि ति कारखाना बन्द गरिने भएको सरकारी अधिकारीलाई उधृत गर्दै रोयटर्सले समाचार लेखेको छ । कारखाना बन्द गरेर थप परीक्षण गर्ने योजना छ । तर कुन मितिदेखि ति कारखाना बन्द हुन्छन् भन्ने मिति खुलाइएको छैन ।

टप ग्लोव्स कम्पनीले गत बुधवार देखि नै आफ्ना १६ वटा कारखानाले तत्काल उत्पादन बन्द गरिसकेको जनाएको छ । थप १२ वटाले सिमित रुपमा काम जारी राखेको जनाइएको छ ।

मलेसिया विश्वमै सप्लाई हुने मेडिकल ग्लोव्सको ठूलो उत्पादक तथा निर्यातक मुलुक हो । मलेसियाका ग्लोव्स कम्पनीहरुले विदेशी श्रमिकलाई आर्थिक शोषण गरेको समाचार सार्वजनिक भएपछि दवावमा परेका ति कम्पनीहरु मध्ये केहिले हाल विदेशी श्रमिकले यसअगाडी भर्ना प्रकृयामा तिरेको रकम किस्तावन्दीमा फिर्ता गरिरहेका छन् । यसरी रकम फिर्ता गर्ने कम्पनीहरु मध्ये टप ग्लोव्स पनि एक हो । सो कम्पनीमा ठूलो संख्यामा नेपाली श्रमिक पनि काम गर्दछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!