वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै,कात्तिक सम्म २० हजार श्रमिक विदेशिए

Posted on: 02 Dec, 2020

मंसिर १७, काठमाडौँ | विश्वमहामारीको रुपमा फैलिएको कोरोना महामारीकै बिच बैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ | आर्थिक वर्षमा २० हजारभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि बाहिरिएका हुन् | चालु आर्थिक वर्षको कात्तिकसम्मका २० हजार ५ सय ६८ जना श्रमिकले विदेश जानको लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ | विभागले पुनः श्रम स्वीकृतिलाई खुला गरेसंगै विदेशीक रोजगारीमा जानेको संख्या बढेको हो |

विभागका अनुसार साउन महिनामा ३ हजार १ सय ५२ जना व्यक्तिले विदेश जानको लागि श्रम स्वीकृति लिएका थिए | भदौ महिनामा यो संख्या घटेर १ हजार ५ सय १५ जनामा सीमित भएको थियो | तर, असोज महिनामा श्रम स्वीकृति लिनेको संख्या ५ गुणा भन्दा बढीले वृद्धि भई ८ हजार ९७ जना पुगेको थियो |

त्यस्तै कात्तिक महिनामा भने असोजको तुलनामा श्रम स्वीकृति लिनेको संख्यामा कमी आएको छ | कात्तिक महिनामा कुल ७ हजार ७ सय ९७ जनाले यस्तो श्रम स्वीकृति लिएका थिए । दसैँ, तिहार जस्ता चाडवाडका कारण वैदेशिक रोजगार कार्यालयहरु धेरै समय बन्द हुँदा यसरी श्रम स्वीकृति लिनेको संख्या तुलनात्मक रुपमा कम भएको हो |

पछिल्लो समय खाडीका मुलुकहरुले रोजगारीको लागि खुला गरेसंगै यो संख्या बढेको हो |


यस बिषयमा तपाइको प्रतिक्रिया...!