अल साशा ओभरसिजमा छापा, चर्को लागतबिरुद्ध युवाहरु जाग्न थाले

Posted on: 17 Jan, 2021

अनिल अधिकारी | माघ ४, काठमाडौँ | वैदेशिक रोजगार विभागले गौशाला स्थित अल साशा ओभरसिज प्रा.लि.मा छापा मारेको छ । वैदेशिक रोजगारको क्रममा साउदीको एक कम्पनीमा जान लागेका युवासंग सरकारले तोकेभन्दा बढी रकम असुल गरिरहेको अवस्थामा छापा हानिएको हो ।

माथिको तश्वीरमा: अशुलीमा संलग्न एजेन्ट अनुप राई ।

मकवानपुरका अर्जुन अधिकारीले साउदी अरब जानका लागि अल साशा ओभरसिजलाई ९४ हजार पाँच सय रुपैयाँ बुझाए लगत्तै वैदेशिक रोजगार बिभागको टोली उक्त म्यानपावर कम्पनि पुगेको थियो । बिभागको टोली पुग्दा म्यानपावरले पैसा अशुलीमा अनुप राई भन्ने एजेन्ट परिचालन गरेको पाइएको छ । अशुलीमा संलग्न राई लकडाउन अघि अरुनै म्यानपावरमा कार्यरत रहेको बुझिएको छ । राईले आफूले पैसा अशुली गरे बापत म्यानपावरबाट १४ हजार पाउने समेत खुलाशा गरेका छन् । यस सम्बन्धमा म्यानपावरका सञ्चालक सुमन थापाले समेत सम्बन्धित कम्पनीले टिकटको पैसा नदिएको भन्दै कामदारसँग पैसा लिन बाध्य भएको बताएका छन् । 


वैदेशिक रोजगार बिभागले पिडितको उजुरीको आधारमा म्यानपावरले सरकारले तोके भन्दा चर्को रकम अशुली गरेको प्रमाणित भएपछि सम्बन्धित म्यानपावरका संचालक र अशुलीमा संलग्न राईलाई वैदेशिक रोजगार बिभागमा थप कारवाहीको लागि सोमबार बोलाएको छ । साथै पिडितलाई १० हजारमै साउदी उडाउने सहमति सहित सम्पूर्ण कागजात दिएर पठाएको छ ।  


कोरोना यता वैदेशिक रोजगार बिभागले अनुगमनको कामलाई तिब्रता दिएको छ । यस सम्बन्धमा पछिल्लो समय युवाहरुमार्फत चर्को अशुली भएको सम्बन्धमा उजुरीहरु बढेको कारण नियमित अनुगमन भईरहेको र यो अझै बढ्ने वैदेशिक रोजगार विभागका अनुगमन तथा अभिमुखिकरण शाखाका शाखा अधिकृत कुशल बरालले साझा सबाललाई जानकारी दिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!