वैदेशिक रोजगार विभाग विरुद्ध म्यानपावर व्यवसायी आन्दोलित

Posted on: 24 Jan, 2021

माघ ११, काठमाडौं । म्यानपावर व्यवसायीहरु विभिन्न माग राख्दै वैदेशिक रोजगार विभाग विरुद्ध आन्दोलित बनेका छन् । विभागले व्यवसायमा सुधारभन्दा अनुचित नियन्त्रणको शैली अपनाएको निष्कर्ष सहित नेपाल वैदेशिक रोजगार व्यवसायी संघ आन्दोलित बनेको हो ।

व्यवसायीहरुले आइतबार वैदेशिक रोजगार विभाग बुद्धनगरमा धर्ना दिएका छन् । उनीहरुले आफ्ना माग पुरा नभए विभागमा तालाबन्दी गर्ने र चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । संघले वैदेशिक रोजगारमा जाने कामदारको राहदानी म्यानपावर कम्पनीले राख्न पाउनुपर्ने, विभागको पछिल्लो सार्वजनिक सूचनासहित, म्यानपावर कम्पनीको शाखा कार्यालय सञ्चालनको अनुमति पाउनुपर्ने , वैदेशिक रोजगार व्यवसायी कोष सञ्चालन, वैदेशिक रोजगार सूचना प्रणालीमा रहेका समस्या, घरेलु कामदार पठाउन छुट्टै, जापानमा प्रशिक्षार्थी कामदार पठाउन छुट्टै ईजाजत लिनुपर्ने हालको झन्झटिलो प्रणाली परिवर्तन गर्नुपर्ने लगायत मागहरु राखेका छन्। 

कोरोना महामारीको कारणबाट व्यवसाय धरासायी हुन पुगेको अवस्थामा सुधार तथा राहतका कार्यक्रम ल्याएर व्यवसायीको मनोवल उकास्नु पर्ने समयमा विभागले विगतमा सुधारका लागि जनाएका प्रतिवद्धता पूरा नगरी नियन्त्रणमुखी रवैया अपनाएको भन्दै त्यसले व्यवसायीलाई सडकमा ओर्लन वाध्य पारेको संघका अध्यक्ष विष्णुप्रसाद गैरेले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!