कतारको हजारौं कोटा म्यानपावरका हातबाट फुत्कन सक्ने, सरकार आफैले पठाउन छलफल चल्दै

Posted on: 08 Mar, 2021

फागुन २४, काठमाडौँ | कतार पुलिसमा पठाउन केहि म्यानपावरहरुले अवैध अन्तर्वार्ता लिएपछि कतार रोजगारीको हजारौं कोटा म्यानपावरहरुको हातबाट फुत्कन सक्ने भएको छ । यस सम्बन्धमा आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले मुख खोलेका छन् । 

वैदेशिक रोजगार बोर्डले आयोजना गरेको अभिमुखीकरणका नयाँ पाठ्यक्रमअनुरुप तालिम सञ्चालनका लागि पुनर्ताजगी तालिमको समापन समारोहमा श्रममन्त्री चौधरीले जिटुजी प्रणालीबाट कतारमा कामदार पठाउने तयारी भएको बारे जानकारी दिएका हुन् । 


उक्त कार्यक्रममा बोल्दै मन्त्री चौधरीले कतारको विश्वकपको लागि कतारलाई आवश्यक पर्ने जनशक्ति पठाउन जिटुजी मोडल अपनाउन छलफल चलाएको बारे जानकारी गराएका छन् । सरकार आफैले कतारमा कामदार पठाउनको लागि राजदूतसँग समेत छलफल गरेको मन्त्री चौधरीले जानकारी दिएका छन् । कतार कामदार पठाउने पुरानो श्रम समझदारीलाई नै संशोधन गरेर सरकारी तबरबाटै श्रमिक पठाउने गरी अब छिट्टै विज्ञसहितको टोलीसंग छलफल गर्ने तयारी रहेको मन्त्री चौधरीले जानकारी दिएका छन् ।

मन्त्री चौधरीले वैदेशिक रोजगार व्यवसायीलाई अवैध रकम नलिन समेत आग्रह गरेका छन् । मन्त्री चौधरीले म्यानपावर कम्पनीले सर्वसाधारण युवालाई ठगेमा मन्त्रालय र विभागले कारबाही गर्न पछि नहट्ने समेत जानकारी दिए । उनले वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीहरुले लाखौँ रकम लिएर रसिद भने १० हजारको मात्र दिने गरेको स्मरण गरे । उनले गलत तरिकाले पैसा लिने, ढाँट्ने र ठग्नेलाई कुनै पनि हालतमा नछाड्ने चेतावनी समेत दिए । 

कतार पुलिसमा पठाएर लाखौँ अशुल्ने योजनामा रहेका गिरोहका कारण म्यानपावरको हातबाट विश्वकपको लागि पठाइने कामदारको कोटा सरकारले खोस्ने तयारी गरेको हो । म्यानपावरहरुले निशुल्क रुपमा कामदार पठाउन सक्ने अवस्था हुँदाहुँदै पनि अस्वस्थ प्रतिश्पर्दा तथा बिदेशी तथा स्वदेशी एजेन्टहरुको प्रभावमा परेर चर्को लागतमा कामदार पठाईरहेको पाइएको छ । यो विषयलाई कतारका सम्बन्धित निकायहरुले समेत ध्यानाकर्षण गरेका छन् । कामदार भर्ति तथा कामदारको सुरक्षा समेतमा धेरै सुधार गरेको कतारले बिदेशी कामदारलाई आफ्नो देशमा कामदारको रुपमा ल्याउँदा निशुल्क ल्याउन चाहिरहेको अवस्थामा नेपाल सरकारको पहललाई कतारका अधिकारीहरुले समेत सहजै स्वीकार गर्ने आशा गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!