एमनेष्टीले भन्यो 'वैदेशिक रोजगारका कामदारको उद्धारमा सरकार चुक्यो'

Posted on: 08 Apr, 2021

चैत्र २६, काठमाडौं  । एम्नेष्टी इन्टरनेशनलले कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वव्यापी लकडाउन भएपछि वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपाली कामदारहरुको उद्धारमा नेपाल सरकार चुकेको बताएको छ । मानव अधिकारको क्षेत्रमा कार्यरत उक्त अन्तर्राष्ट्रिय संस्थाले कोरोनाका कारण रोजगारी गुमाएर लाखौं नेपाली कामदार विदेशमा अलपत्र परेपनि उनीहरुलाई सुरक्षित घर फर्काउने जिम्मेवारीमा सरकार विफल भएको दाबी गरेको छ ।

एम्नेष्टीले सार्वजनिक गरेको सन् २०२०/०२१ को वार्षिक प्रतिवेदनमा वैदेशिक रोजगारीमा रहेका कामदारहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट स्वदेश फर्काउन सकिने भएपनि प्रक्रिया सुनिश्चित गर्न सरकार असफल भएको प्रतिवेदनमा उल्लेख छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गत वर्ष चैत १५ गतेबाट विदेशमा अलपत्र कामदारहरुको उद्धार शुरु गरेको थियो । जसअन्तर्गत हालसम्म ३ लाख ७९ हजार ३ जना स्वदेश फर्किएका छन् ।

त्यसमा वैदेशिक रोजगारमा गएका कामदारको संख्या आधा रहेको आंकलन गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारी विश्वव्यापी भएपछि मानव अधिकार आयोगसहित विभिन्न संस्थाले गरेको अध्ययनमा करिब ९ लाख नेपाली कामदार स्वदेश फर्किन सक्ने आंकलन गरेका थिए । आयोगले ‘कोभिड–१९ को महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकहरुको अधिकार’ नामक अध्ययन नै गरेको थियो ।

उक्त अध्ययनले ८ लाख ९० हजार कामदार तत्काल नेपाल फर्कन सक्ने देखाएको थियो । आयोगले वैदेशिक रोजगार बोर्डले दिएको विवरणका आधारमा उक्त संख्यामा नेपाली कामदार स्वदेश फर्कन सक्ने अनुमान गरेको हो ।

नयाँ र पुनः श्रम स्वीकृति गरी वैधानिकरुपमा श्रम स्वीकृति लिएर विदेशमा गएकामध्ये ८ लाखले रोजगारी गुमाउन सक्ने र अध्ययन गर्न, पारिवारिक भेटघाट एवं श्रम स्वीकृति नलिई गएका करिब ७ लाख समेत गरी विदेशमा रहेका १६ लाख नेपाली नेपाल फर्कन सक्ने बोर्डको प्रारम्भिक आंकलन थियो । तर फर्किएका कामदारको संख्या डेढ लाखको हाराहारीमा सीमित रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आंकलन छ ।

एम्नेष्टीले स्वदेश फर्केका कामदारहरु पुनस्र्थापना र जीवन सञ्चालनका लागि रोजगारीको बैकल्पिक व्यवस्थाको सुनिश्चित गर्न र कोभिड–१९ क्वारेन्टिन सुविधास्थलहरुमा समेत प्रश्न उठाएको छ । उक्त संस्थाले कैलालीको कोभिड क्वारेन्टिनमा राखिएकी एक महिला बलात्कृत भएको उल्लेख गर्दै फर्किएका कामदारहरुको समेत उचित प्रवन्ध नभएको टिप्पणी गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!