विदेश जानेलाई पनि जोन्सनको खोप, श्रम मन्त्रालयले निर्णय सच्याउन काट्यो पत्र

Posted on: 14 Jul, 2021

असार ३०, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेश जाने श्रमिकहरुलाई जोन्सन एण्ड जोन्सन खोप उपलब्ध हुने व्यवस्था गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई पत्र काट्दै अनुरोध गरेको छ । श्रम सचिव स्तरीय निर्णय गर्दै विदेश जानेलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था गर्न आवश्यक प्रवन्ध गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई श्रम मन्त्रालयद्वारा अनुरोध गरिएको छ ।

सरकारले असार २८ गते खोप अनिवार्य गरिएका देशमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भेरोसेल खोप लगाउने र शरणार्थीका लागि जोन्सनको खोप दिने निर्णय गरेको थियो । शरणार्थीलाई एक डोज लगाउँदा पुग्ने जोन्सन एण्ड जोनसनको र विदेशमा काम गर्ने नेपालीलाई चार हप्ताको अन्तरमा लगाउनुपर्ने भेरोसेल खोप दिने सरकारी निर्णयको वैदेशिक रोजगार व्यवसायी र विदेश जाने श्रमिकहरुले आलोचना गर्दै आएका थिए ।

सरकारको यो निर्णयले हजारौँ नेपाली विदेशको रोजगारी गुमाउने अवस्थामा पुगेको भन्दै प्रगतिशील वैदेशिक रोजगार ब्याबसायी मंच , नेपालले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण समेत गरेको थियो ।

नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य खाडीका कतार, कुवेत, साउदी जस्ता देशले भेरोसेललाई मान्यता दिएका छैनन् । त्यहाँ मोडेर्ना, अष्ट्राजेनेका, फाइजर र जोन्सन एण्ड जोन्सनले मात्र मान्यता पाएका छन् । जोन्सन एण्ड जोन्सनको खोप एक डोजको हो र यो खोप लगाएपछि श्रमिक तुरुन्तै काम गर्ने देशमा जान पाउँछन् । 

साथै श्रम स्वीकृत गरेको प्रमाण र राहदानी सहित तोकिएको जोन्सन एण्ड जोन्सन खोप केन्द्र वा स्वास्थ मन्त्रालयले तोकेको केन्द्र बाट खोप प्राप्त गर्न सकिने जनाइको छ । श्रम मन्त्रालयले हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ: सम्पादक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!