विदेश जानेलाई जोन्सन एण्ड जोन्सनको खोप दिने निर्णय भएको हो ? के भन्छ मन्त्रालय ?

Posted on: 15 Jul, 2021

अनिल अधिकारी | असार ३१, काठमाडौँ | विदेश जाने कामदारलाई जोन्सन एण्ड जोन्सन खोप दिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ । मन्त्रालयको सचिवस्तरबाट वैदेशिक रोजगारीमा जाने कामदारको लागि उक्त कम्पनीको खोप लगाउनको लागि सिसिएमसी तथा स्वास्थ्य मन्त्रालयलाई पत्राचार भएको हो ।

वैदेशिक रोजगारमा जाने युवाहरुलाई जोनसन एण्ड जोनसनको खोप दिन आवश्यक देखिएकोले आवश्यक पत्राचार भएको मन्त्रालयका प्रवक्ता दिपक काफ्लेले साझा सबाल मिडियालाई जानकारी दिए । स्वास्थ्य मन्त्रालयले सोमबार अमेरिकाबाट आएको १५ लाख भन्दा बढी डोज जोनसन एण्ड जोनसन खोप ५० देखि ५४ बर्षसम्मका, पूर्ण तथा अति आशाक्त (वर्ग क र ख) अपांगता भएकाहरु तथा हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सफाईकर्मीहरुलाई मात्र दिने निर्णय भएको थियो । 


यसै सम्बन्धमा केहि मिडियामा बिहिबार बिहानै 'वैदेशिक रोजगारमा जाने कामदारलाई जोन्सन एण्ड जोन्सनको खोप दिने' भन्दै समाचार आएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यस सम्बन्धमा निर्णय गरिसकेको छैन । मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले वैदेशिक रोजगारमा जानेहरुलाई जोनसन एण्ड जोनसनको खोप दिन सम्भव नभएकोले नै भेरोसेलको खोप दिने निर्णय भएको बताए । जोनसनको तुलनामा भेरोसेल खोप लामोसमयसम्म स्टोर गरेर राख्न सकिने र भेरोसेल खोपको नियमित डोजहरु पाउन सक्ने भएकोले स्वास्थ्य मन्त्रालयले यस अघिको निर्णय गरेको पोखरेलले बताए ।

नेपाली कामदारहरु जाने गन्तव्य देशहरुमा सरकारले पहल गरेर भेरोसेल खोपलाई पनि मान्यता दिन पहल हुनुपर्ने डा. पोखरेलको धारणा छ । उनले भने 'वैदेशिक रोजगार नियमित चलिरहन्छ तर जोनसन एण्ड जोनसन खोप निश्चित समयसम्म मात्र स्टोर गर्न सकिने र अरु डोजहरु आउने/नआउने निश्चित छैन ।' तत्कालको लागि यो खोप वैदेशिक रोजगारमा जानेहरुलाई दिन सम्भव नदेखिएको पोखरेलले बताए । पोखरेलका अनुसार सरकारले नियमित रुपमा जोनसन एण्ड जोनसन खोप निर्यात गर्न सक्ने हो भने मात्र वैदेशिक रोजगारमा जानेहरुलाई यही खोप दिन सकिने बताए । तत्कालको लागि निश्चित डोज जोनसनकै खोप वैदेशिक रोजगारमा जानेहरुलाई दिनको लागि नयाँ सरकारले थप निर्णय गरेमा दिन सकिने पोखरेलको भनाई छ । 

गत सोमबार वैदेशिक रोजगारमा जानेहरुलाई चीनबाट आएको भेरोसेल खोप दिने भनिएको थियो । स्वास्थ्य मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारलाई खोपको प्राथमिकतामा राख्दै भेरोसेलको खोप दिने निर्णय गरेको थियो । तर त्यसको औचित्यमा प्रश्न उठाईएको छ । दिने भनिएको भेरोसेल खोप सबै गन्तब्य मुलुकमा स्वीकृति नभएको तथा डोज पुरा गरेर वैदेशिक रोजगारमा जान समेत सहज नहुने भन्दै आलोचना भईरहेको छ । यस सम्बन्धमा बिभिन्न मिडिया, सामाजिक संजाल तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ तथा वैदेशिक रोजगार क्षेत्रका विभिन्न संघसस्थाहरुले समेत आवाज उठाएका छन् ।

यस सम्बन्धमा वैदेशिक रोजगार बिभाग, श्रम मन्त्रालयको समेत ध्यानाकर्षण गराइएको छ । यसै सम्बन्धमा गत सोमबारनै साझा सबाल मिडियासँगको अन्तर्वार्तामा वैदेशिक रोजगार बिभागका महानिर्देशक कृष्ण प्रसाद दवाडीले जोनसन एण्ड जोनसनकै खोप दिन श्रम मन्त्रालय मार्फत पहल भएको बताएका थिए । 

वैदेशिक रोजगारी अन्तर्गत नेपालीको श्रम गन्तव्यमध्ये कतारले जुनसुकै खोपलाई स्वीकृति गर्न सक्ने भएपछि अन्य देशहरु यूएई, बहराइन, साउदी, कुवेत लगायतले निश्चित खोपलाई मात्र मान्यता दिने जनाएका छन् ।

वैदेशिक रोजगारमा जाने नेपालीहरुले सरकारले दिने खोप लगाउनको लागि श्रम स्वीकृत लिएको निस्सा र राहदानीसहित तोकिएको खोप केन्द्र जानुपर्ने मन्त्रालयले जनाएको छ । 

वैदेशिक रोजगार सम्बन्धि पछिल्लो भिडियो हेर्नुहोस्, यसमा बिभिन्न विषयको जानकारी पाउन सकिन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!