८५३ म्यानपावरलाई पछि पार्दै एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्स एक नम्बरमा

Posted on: 16 Jul, 2021

मनोज पराजुली । साउन १, काठमाडौँ । नेपालमा संचालनमा रहेका ८ सय ५३ म्यानपावरलाई पछि पार्दै विदेशमा कामदार पठाउने संख्याको आधारमा एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्स प्रा. लि पहिलो नम्बरमा परेको छ ।

वैदेशिक रोजगार विभागको गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक श्रम स्वीकृति विवरण अनुसार २ हजार ४४७ पुरुष र ४७ महिला गरि कुल २ हजार ४९४ जना कामदार विदेश पठाएर एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्स प्रा. लि म्यानपावरको सूचीमा पहिलो नम्बरमा परेको हो । 


एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्स प्रा. लि पहिलोपटक ८५४ म्यानपावर कम्पनी मध्ये कामदार विदेश पठाएको संख्याको आधारमा एक नम्बरमा परेको हो । २ हजार १७२ जना विदेश पठाएर शान नेपाल प्रा. लि दोश्रो नम्बरमा परेको छ । यी दुई म्यानपावर कम्पनीले उल्लेख्य संख्यामा कतारमा कामदार पठाएर पहिलो र दोश्रोमा परेका हुन् । 

त्यस्तै संख्याका आधारमा तेश्रोमा स्काई स्टार रिक्रुटमेन्ट प्रा. लिले १ हजार ४६२ जना कामदार विदेश पठाएको छ  । एक हजार ४४५ कामदार विदेश पठाएर प्याराडाइज इन्टर्नेशनल प्रा. लि. संख्याका आधारमा चौंथो नम्बरमा परेको छ । पाचौं नम्बरमा रहेको एसओएस म्यानपावर सर्भिसले १ हजार ४२९ र पाचौंमा रहेको भिजन एण्ड भ्यालू ओभरसिज प्रा. लिले १ हजार ३५५ जना कामदार विदेश पठाएका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा पहिलो नम्बरमा रहेको द रिभर ओभरसिज यस पटक सातौँ नम्बरमा पुगेको छ । रिभरले गत वर्ष १ हजार ३१० जना मात्रै विदेश पठाउन सकेको छ । आठौँ नम्बरमा अक्सफोर्ड इन्टर्नेशनल प्रा. लि ले १ हजार २३३, नवौं नम्बरमा रहेको एल समिट म्यानपावर प्रा. लिले १ हजार १३९ र दशौँ नम्बरमा रहेको इन्टर्नेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा. लि. ले ९ सय २० जना मात्रै कामदार विदेश पठाएको छ । कोरोना महामारीका कारण श्रम गन्तव्य मुलुकले कामदार लैजान बन्द गर्दा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत वर्ष उल्लेख मात्रामा घटेको छ । हाल मलेसिया, कुवेत, युएई, दक्षिण कोरिया लगायत देशले नेपाली श्रमिक लैजान बन्द गरेका छन् ।

टिम वर्कका कारण सफलता : दलवीर भण्डारी 

कतारका प्रतिष्ठित कम्पनीहरुसंग राम्रो सम्बन्ध रहेकाले र सोहि कम्पनीबाट यस वर्ष बढी मात्रामा कामदारको माग भएका कारण एक नम्बरमा पर्न सफल भएको एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्स प्रा. लिका संचालक दलवीर भण्डारीले बताए । व्यवस्थापनमा स्नातकोत्तर गरेका ३१ वर्षीय भण्डारी २०६९ सालदेखि वैदेशिक रोजगार क्षेत्रमा म्यानपावरको  कर्मचारी हुँदै हाल म्यानपावर संचालक बनेका हुन् । प्रगतिशील वैदेशिक रोजगार मंचको सचिव समेत रहेका भण्डारी विदेशका राम्रा राम्रा कम्पनीसंगको सुमधुर सम्बन्धका साथै टिम वर्कका कारण सफलता प्राप्त गर्न सकिने बताउँछन् । कम्पनीले कतार बाहेक युएई, साउदी लगायत खाडीका देश र मलेसियामा कामदार पठाउँदै आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!