जापान पठाइदिने भन्दै झन्डै ४० लाख ठगी, चार जना पक्राउ

Posted on: 19 Jul, 2021

साउन ४, काठमाडौँ | जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ३९ लाख ६८ हजार नौ सय ९६ रुपैयाँ ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गर्ने मकवानपुरकी ३७ वर्षीया शुभद्रा परियार, इलामका ३३ वर्षीया पूजा राई, सिन्धुपाल्चोकका ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुरकी २१ वर्षीया दीपिका केसीलाई आज काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । 


सामाजिक सञ्जाल फेसबुकमा ‘टानाकायोका’ को नामबाट फेसबुकको प्रयोग गरी आफू जापानको अध्यागमनमा काम गर्ने नागरिक हो भन्दै ‘वर्किङ भिसा’ प्रक्रियाका लागि रकम पठाउनुपर्छ भनी ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

उनीहरूले पीडितलाई पैसा आफ्नो खातामा राख्न लगाएर जापान नपठाइ ठगी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!