विदेश जानेसँग खोप प्रमाणीकरणको नाममा धमाधम अशुली हुँदै, मन्त्रालय भन्छ 'नि:शुल्क'

Posted on: 26 Jul, 2021

साउन ११, काठमाडौँ | विदेश जानेसँग खोप प्रमाणीकरणको नाममा सिभिल अस्पतालले धमाधम पैसा अशुलिरहेको पाइएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेका हकमा राजधानीका चार अस्पतालबाट कोभिड–१९ विरुद्ध खोप लगाएको निशुल्क प्रमाणीकरण लिन सक्ने निर्णय गरेको थियो । त्यसो त मन्त्रालयले जारी गरेको सूचनामा समेत खोप लगाएको प्रमाणीकरण निशुल्क हुने समेत उल्लेख छ । 


यसअघि राजधानीकै शुक्रराज सरुवा रोग अस्पताल, टेकुबाट यो सेवा दिँदा रु ६०० लिने गरिएको थियो । प्रमाणीकरण लिन घन्टौं लाइन बस्नुपर्ने, पैसा तिर्नुपर्ने र एक ठाउँबाट मात्र सेवा लिन बाध्य भएको भन्दै चौतर्फी आलोचना भएपछि मन्त्रालयले त्यसको नियन्त्रणका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल र सशस्त्र प्रहरी बल अस्पतालमा यो सुविधा दिने निर्णय गरेको थियो । तर नयाँ बानेश्वर स्थित सिभिल अस्पतालले खोप प्रमाणीकरणको नाममा प्रतिव्यक्ति तीन सय अशुली गरिरहेको प्रमाण साझा सबाल मिडियालाई प्राप्त भएको छ । सोमबार अस्पतालमा सेवा लिन पुगेकाहरुले प्रति व्यक्ति तीन-तीन सय तिरेर खोप लगाएको प्रमाण बनाउन बाध्य भएको बताएका छन् ।

 

यसै सम्बन्धमा खोप प्रमाणीकरणको जिम्मा पाएको काठमाडौँ स्थित सशस्त्र प्रहरी बल अस्पतालले भने खोप प्रमाणीकरणको लागि कुनै पनि शुल्क नलिएको जनाएको छ । सरकारले निशुल्क भनेको अवस्थामा सिभिल अस्पतालले किन पैसा अशुली गरेको भन्ने प्रश्न सहित उक्त अस्पतालमा जानकारी लिन दिनभर फोन सम्पर्क गर्न खोज्दा अस्पतालले फोन उठाएन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!