कतार जान लागत बढ्ने: खोप लगाए पनि क्वारेन्टिन बस्नैपर्ने, खोप नलगाए जान पाइदैन

Posted on: 01 Aug, 2021

साउन १७, काठमाडौं | कतारले कोरोना विरुद्धको खोप लगाएका विदेशी नागरिकलाई अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम लगाएपछि वैदेशिक रोजगारमा जाने नेपालीहरु त्यसबाट प्रभावित हुने भएका छन् । कतारले यसअघि कोरोना विरुद्धको खोप लगाएकाहरुलाई क्वारेन्टिन बस्नु नपर्ने निर्णय गरेको थियो भने खोप नलगाए पनि कतार प्रवेश दिने निर्णय गरेको थियो । 

नेपालमा जोनसनएण्ड जोनसन खोप लगाएर वैदेशिक रोजगारमा जान ठिक्क परेका युवाहरुलाई कतारको नयाँ नियमले प्रभाव पार्ने भएको छ । खोप लगाएपछि कतारमा क्वारेन्टिन बस्नु नपर्ने यस अघिको नियमले ढुक्क भई बसेकाहरु समेत नयाँ नियमले समस्यामा पर्ने भएका छन् । खोप लगाएर कतार जाने तयारीमा रहेकाहरुलाई अब होटल बुकिङ गर्नु पर्ने भएको कारण समस्या थपिएको हो । जसको कारण कतार जान लागत बढ्ने बुझिएको छ । केहि कम्पनीले कामदारको क्वारेन्टिन खर्च आफै व्यहोर्ने भए पनि सबै कम्पनीले कामदारको क्वारेन्टिन खर्च नव्यहोर्ने भएको कारण विदेशिने नेपाली कामदार आफैलेनै खर्च व्यहोर्नुपर्ने हुन्छ । क्वारेन्टाइन बुकीङ गर्न नेपालबाट कतार जाने हवाई टिकटसँगै गर्नुपर्ने भएको कारण पनि समस्या बढ्ने देखिएको छ । 


नयाँ नियम अनुसार कतार जाने बिदेशीले अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्छ । खोप लगाएपनि क्वारेन्टिन बस्नुपर्ने नियमले नेपाली युवाहरु विदेश जाँदा आर्थिक भार थपिएको छ । जसको कारण नेपालको अर्थतन्त्र समेत प्रभावित हुने भएको छ । नेपाली युवाहरुको पैसा क्वारेन्टिनको नियमको कारण विदेशिने अवस्था आउँदा अर्थतन्त्रमा समेत प्रभाव देखिन्छ । 

वैदेशिक रोजगारमा जाने युवाहरुलाई अन्तर्राष्ट्रिय उडानमा समेत मनपरी भाडा अशुलिएको छ । सम्बन्धित देशमा रहेका नेपाली दुतावासहरुले समेत क्वारेन्टिनको लागि रोजगारदाता कम्पनीलेनै क्वारेन्टिनको व्यवस्थापन गर्नुपर्ने कडा पहल लिन नसकेको कारण विदेशिने कामदार आफैले क्वारेन्टिनको पैसा बुझाउन बाध्य भएको बताएका छन् ।

कतारले ९ जुलाइदेखि  धेरै क्षेत्रहरुमा फुकुवा गरेपछि रोजगारीको अवसर बढेको भएपनि नयाँ नियमको कारण विदेश जाँदा थप लागत बढ्ने निश्चित छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!