वैदेशिक रोजगारीमा गएका १२ सय ४३ जनाले ज्यान गुमाए, परिवारलाई ७३ करोड आर्थिक सहायता वितरण

Posted on: 01 Aug, 2021

साउन १७, काठमाडौं । वैदेशिक रोजगारीमा गएका १ हजार २ सय ४३ नेपाली श्रमिकहरूको गन्तव्य देशमा मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा रोजगारीका लागि श्रम स्वीकृति लिएर विभिन्न २७ देशमा गएका १ हजार २ सय ४३ जनाको मृत्यु भएको वैदेशिक रोजगार वोर्डको सचिवालयले जानकारी दिएको छ । 

साउदी अरबमा गत वर्ष  सबैभन्दा धेरै ३ सय ६२  जनाले ज्यान गुमाएको वोर्डको तथ्यांक छ । वोर्डका अनुसार साउदीपछि मलेसियामा धेरै कामदारले ज्यान गुमाएका छन् । मलेसियामा १ महिला र २ सय ७९  पुरुष गरी जम्मा २ सय ८० जनाले ज्यान गुमाएका छन् ।  त्यसैगरी, कतारमा  २३७ पुरुष र २ जना महिला र २३९ जनाको ज्यान गएको छ भने  यूएईमा १९६ पुरुष र १२ जना महिला गरी २०८ आठ जनाएको एक वर्षको अवधिमा ज्यान गुमाएका छन् । 


खाडीको अर्को देश बहराइनमा ३१ जना, कुवेतमा ५५ जना र ओमानमा ७ जनाको ज्यान गएकोवोर्डको तथ्यांक छ । सो आवमा वैदेशिक रोजगारीमा ज्यान गुमाएका मृतक कामदारका परिवारलाई करिब ७४ करोड रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको वोर्डले जनाएको छ । 

बोर्डले १ हजार २ सय १३ जना पुरुष र २९ महिला गरी १ हजार २ सय ४३ जना मृतक कामदारका परिवारलाई वोर्ड ७३ करोड ७७ लाख १५ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको जनाएको छ ।यस्तै, मृतक कामदारको शव विमानस्थलदेखि घरसम्म पुर्‍याउनका लागि मात्रै १७ लाख ९४ हजार ९७६ रुपैयाँ खर्च गरेको छ । यो रकम ७७० मृतकको शव घरसम्म पुर्‍याउन खर्च भएको वोर्डले उल्लेख गरेको छ । 

यसैगरी, गम्भीर बिरामी र अंगभंग भएर फर्किएका १४३ जना कामदारलाई ७ करोड ३३ लाख २ हजार २ सय रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको वोर्डले जनाएको छ । १ सय २२ शव झिकाउन समन्वय र सहयोगका लागि मात्रै वोर्डले ९० लाख  ६७ हजार ८१० रुपैयाँ खर्च भएको जनाएको छ ।

सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको शव रोजगारदाता देशबाट घरैसम्म निशुल्क रुपमा पुर्याउँदै आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!