‘अवैधानिक’ रुपमा बस्दै आएका विदेशी श्रमिकलाई एक डोज खोप लगाए पुग्ने

Posted on: 03 Aug, 2021

साउन १९, काठमाडौं । मलेसियाको पेनाङमा ‘अवैधानिक’ रुपमा बस्दै आएका विदेशी श्रमिकलाई एक डोज दिए पुग्ने कोभिड १९ विरुद्दको खोप दिइने भएको छ । कोभिड-१९ खोप टास्क फोर्सले खोप दिने प्रवन्ध गरेको मलेसियामा सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पेनाङका स्वास्थ्य प्रमुखका अनुसार अवैधानिक रुपमा बस्दै आएका विदेशीहरुलाई एक डोज मात्र दिए पुग्ने खोप लगाइने छ । उनले अवैधानिक रुपमा बस्दै आएकाहरु त्था शरणार्थीहरुलाई एकैपटक खोप दिन लागिएको जानकारी दिएका छन् ।गत जुन महिनामा एक सञ्चार माध्यममा डक्टर विथ आउट वोर्डर्स तथा युएनएचसीआरसँगको समन्वयमा पेनाङमा अवैधानिक रुपमा बस्दै आएका विदेशी नागरिकहरु तथा शरणार्थीहरुलाई खोप लगाइने समाचार प्रकाशित भएको थियो ।

त्यसरी खोप लगाउनेहरु झण्डै २० हजारले आवेदन दिने अपेक्षा गरिएपनि पक्राउ परिने त्रासका कारण धेरैले आवेदन नदिएको जनाइएको छ । युएनएचसीआरले शरणार्थीहरु एक ठाउँबाट अर्को ठाउँमा सरिरहने भएका कारण उनीहरुका लागि एक डोज लगाए पुग्ने खोप प्राथमिकतामा राखेको समाचारमा जनाइएको छ ।

पेनाङका स्वास्थ्य प्रमुखले सार्वजनिक निजि साझेदारी अन्तर्गत ६ हजार विदेशी श्रमिकले खोप लगाएको बताए । मलेसियाले आफूसँग काम गर्ने श्रमिकको न्यूनतम शुल्क रोजगारदाताहरुले तिरेर कोभिड १९ विरुद्दको खोप लगाउने व्यवस्था गरेको छ । MySejahtera एप मार्फत रजिष्टर गरेका विदेशी श्रमिकलाई खोप प्रदान गरिने स्थानीय जिम्मेवार सरकारी अधिकारीहरुले बताएका छन् ।

गत जुलाई २५ मा अवैधानिक रुपमा बस्दै आएका विदेशी नागरिक तथा शरणार्थीहरुलाई खोप प्रदान गरिने सम्वन्धि कार्यविधि राष्ट्रिय खोप कार्यक्रमले स्वीकृत गरेको थियो । खोप कार्यक्रम मलेसियन रेड क्रिसेन्ट मार्फत सञ्चालन गर्ने मलेसियाको सरकारको योजना छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!