ओमिक्रोन भेरियन्टका कारणले वैदेशिक रोजगार क्षेत्र अन्योलमा

Posted on: 02 Dec, 2021

मंसिर १६, काठमाडौं | ओमिक्रोन भेरियन्टका कारणले वैदेशिक रोजगार क्षेत्र अन्योलमा  परेको छ ।  कोरोना भाइसर (कोभिड–१९) को कारणले करिब दुई वर्ष थला परेका वैदेशिक रोजगार व्यवसायी कोरोनाविरूद्धका खोप आएपछि केही उत्साहित भएपनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेपछि पुनः तनावमा देखिन थालेका छन् । 

ओमिक्रोनको भेरियन्टबाट आफ्ना नागरिकलाई बचाउन उच्च सुरक्षा सतर्कता अवलम्बन गरे पनि नेपाली कामदार जाने प्रमुख देशहरूका बुधबारसम्म यात्रामा कुनै अवरोध देखिएको छैन ।

साउदी अरबको स्वास्थ्य मन्त्रालयले बुधबार उत्तर अफ्रिकी देशबाट आएका एक साउदी नागरिकमा कोभिड–१९को ओमिक्रोन भेरियन्ट भेटिएपछि संक्रमित नागरिक र उनीसँग नजिकको सम्पर्कमा रहेकाहरूलाई सम्बन्धित स्वास्थ्य प्रक्रियाहरू अबलम्बन गरी अलग्गै राखिएको बताएको छ । साउदी अरेबियाले दक्षिण अफ्रिका, नामिबिया, बोत्सवाना, जिम्बाब्वे, मोजाम्बिक, लेसोथो र इस्वाटिनी जाने र आउने उडानहरू स्थगित गरेको बताएको छ । 

साउदी अरबको स्वास्थ्य मन्त्रालयले कोभिडविरुद्धको खोपलाई निरन्तरता दिँदै सावधानीका तथा रोकथामका उपायहरू र स्वीकृत गरिएका स्वास्थ्य मापदण्डहरु कडाइसाथ पालना गर्न सबैलाई अनुरोध गरेको छ । नेपालमा ओमिक्रोन हालसम्म नदेखिए पनि सबैलाई सचेत रहन र स्वास्थ्य मापदण्ड पालन गर्न अनुरोध गर्दै अफ्रिकी देशहरूबाट आउने उडानका यात्रुहरूलाई १० दिन क्वारेन्टाइन बस्न भनिएको छ । 

सानो संख्यामा भएपनि नेपाली कामदार जाने जापानले नयाँ भेरियन्टका कारणले  मंगलबारदेखि विदेशीहरूलाई आफ्नोे देश प्रवेशमा रोक लगाएको बताएको छ । अष्ट्रेलियाले न्यूजील्याण्ड र सिंगापुरबाहेक सबै देशका नागरिकहरूका लागि डिसेम्बर १५ सम्म सिमाना बन्द गरेको छ । साथै अष्ट्रेलियन नागरिक र अष्ट्रेलियन पिआर भएकाहरूका लागि ७२ घण्टाभित्रको पिसीआर रिपोर्ट र घर वा होटलमा आइसोलेसनमा बस्नका लागि नयाँ नियम बनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!