अमेरिकामा नेपाली चलचित्र महोत्सवको तयारी भब्य

Posted on: 26 Mar, 2017


वाशिंगटन डीसी l अमेरिकाको राजधानी वासिङ्गटन डिसी महानगर क्षेत्रमा नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ l झन्डै १ महिना १० दिन पछि आयोजना हुने उक्त उत्सव ३ दिन सम्म चल्ने छ l आयोजक समिति उत्सव तयारीमा अहोरात्र खटिई रहेका छन् भने यस भेकका सबै नेपाली समुदायलाई आयोजक ले सहयोग गर्न आव्हान गरेका छन् l 

महोत्सव आगामी मे महिनाको ५ देखि ७ तारिख सम्म चल्ने नेपाल अमेरिका फिल्म सोसाइटीका अध्यक्ष एवं महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिएका छन् l तयारी जोड्तोड़का साथ चलिरहेको र आयोजकले कुनै कसर नछोड्ने प्रतिबद्धता जाहेर गरेका छन् l 

महोत्सव नेपाली डायस्पोरा समुदायको चलचित्र संस्कृति सम्बन्धि साझा मञ्चको रुपमा स्थापित गराउने लक्ष्यले महोत्सव आयोजना गर्न लागिएको बराइलीले बताएका छन् l 

नेपाल र अमेरिकाको कला, संस्कृति र ज्ञानलाई चलचित्रको माध्यमबाट जोड्ने लक्ष्यका साथ स्थापित नेपाल अमेरिका फिल्म सोसाइटीले अमेरिकामा पहिलो पटक यस्तो महोत्सव आयोजना गर्न लागेकोले आयोजक समिति उत्साहित भएका छन् l

महोत्सवमा मूलतः नेपालका फिचर फिल्म,वृत्तचित्र, छोटा चलचित्र, एनिमेशन(सजीवता )का साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिने छ । उत्सवमा नेपाल बाहेक दक्षिण एसिया, अमेरिका सहित विश्वभरि बनेका चलचित्रहरु समेत यस महोत्सवमा समावेश गरिने छ । 

चलचित्र प्रदर्शनपछि चलचित्रबारे दर्शक र चलचित्र निर्माता÷निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने भएको छ l महोत्सवमा नेपाली डायस्पोरा र चलचित्र जस्ता विभिन्न विधामा विषयगत छलफल तथा कार्यशालाहरुको पनि आयोजना हुने छ । प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ ।

सोसाइटीले चलचित्र प्रदर्शनीका साथसाथै अप्रवासी समुदायलाई लक्षित गरी चलचित्रसम्बन्धी तालिम कार्यशाला, कला संस्कृतिबारे छलफल र चलचित्र महोत्सवजस्ता गतिविधिहरु सञ्चालन पनि सुरु गरेको महोत्सव निर्देशक पूर्णसिंह बराइलीले बताए ।

महोत्सव अमेरिकामा रहेका नेपाली डायस्पोरा संघसंस्था तथा व्यक्तिहरु, नेपाल लगायत विभिन्न देशका चलचित्रसम्बन्धी संघसंस्था र महोत्सवहरुसँगको सहकार्यमा आयोजना गरिने छ । 

महोत्सवमा सहभागिताका लागि नेपाली र आप्रवासी चलचित्रकर्मी लगायत विश्वभरिका सम्पूर्ण चलचित्रकर्मीहरुलाई आफ्ना चलचित्र पठाउन समेत आयोजक संस्थाले अनुरोध गरेको छ । महोत्सवका निर्देशक बराईलीले डीसी क्षेत्र स्थापित तथा समुदायमा राम्रो काम गरि रहेको गैर मुनाफा सामाजिक संस्था नासो कम्युनिटी पनि आयोजक मध्ये कै प्रमुख साझेदार आयोजकमा रहने भएको बताएका छन् l प्रस्तुति: विजय थापा

यस बिषयमा तपाइको प्रतिक्रिया...!