डोटीमा ‘तिर्खाकी पानी’

Posted on: 18 Mar, 2018

प्रकाश बम | चैत ४, डोटी  | सुगम संगीत क्षेत्रमा झन्डै तिन दशकदेखि काम गरिहेका दिवाकर शर्माले नयाँ एल्बम ‘तिर्खाकी पानी’ का गीतहरु डोटीमा पनि सार्वजनिक गरेका छन् । आईतबार नेपाल पत्रकार महासंघ डोटी शाखाको सभाकक्षमा डोटीमा क्रियाशिल पत्रकारहरुका बीचमा एल्बमका गीतका बारेमा जानकारी गराएका हुन् ।


बरिष्ठ संगीतकार बुलु मुकारुङको उपस्थितिमा जिल्लामा क्रियासिल पत्रकारहरुका बीचमा गायक शर्माले प्रत्यक्ष गाएर सार्बजनिक गर्नुभएको हो । सार्वजनिक कार्यक्रममा बरिष्ठ संगीतकार मुकारुङले गायक शर्माले तिर्खाकी पानी एल्बम मार्फत नेपाली सुगम संगीतको समकालीन र मौलिक धार नछाडेको बताउनुभयो । अहिलेको अबस्थामा पनि गायक शर्माको गायकीमा भक्तराज आचार्यको झल्को पाईने बताउदै जीवन्त र सदाबहार शैली प्रस्तुत भएको बताउनुभयो । यद्यपि, आचार्यको प्रतिछाया भने नभएको बताउनु भयो ।

२०५४ सालदेखि रेडियो नेपालमा कार्यरत गायक शर्माले आफूले एल्बममा सकेसम्म नेपाली सुगम संगीतका क्षेत्रमा गीत बिकाउभन्दा टिकाउलाई अँगाल्दै अगाढी बढेको बताउनुभयो । संखुवासभा चैनपुर घर भएका गाएक शर्माले स्वदेशगान, आधुनिक, भजन लगायतका पाँच दर्जन गीत गाई सकेका छन् । ‘तिर्खाकी पानी’ एल्वम एक वर्ष लगाएर अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका दिन काठमाडौँमा एक कार्यक्रमका बीच बिमोचन गरेको शर्माले बताउनु भयो । उक्त एल्बममा ‘तिर्खाकी पानी......’ ‘रुदै काखमा.... ’ ‘मैले बसाई सरेपछि......’ ‘उसको नजरमा... ’ र ‘अब मायाको कुरा...’ गीतहरु रहेका छन् । यी गीतहरुमा  शर्माको एकल स्वर रहेको छ । 


एल्बममा राष्ट्रकवि माधब घिमिरे, गीतकार तथा कविहरु डा. नवराज लम्साल, सुवासचन्द्र ढुंगेल र गोविन्द कुईकेलद्वारा रचित गीतहरु रहेका छन् । जसमा बुलु मुकारुङ, शक्ति बल्लभ र राजु सिँहले संगीत दिनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!