लगातार चौथो पटक पनि कोरोना ‘पोजिटिभ’ देखियो कनिकाको परीक्षण

Posted on: 30 Mar, 2020

चैत १७, एजेन्सी | बलिउड गायिका कनिका कपुरको कोरोनाभाइरसको परीक्षण चौथो पटक पनि ‘पोजिटिभ’ आएको छ । यसका कारण उनको परिवारका सदस्यको चिन्ता बढेको छ ।

उनको परिवारको एक सदस्यले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा भने, ‘हामी परीक्षणको रिपोर्टका कारण चिन्तित छौं । यस्तो लागिरहेको छ कि कनिकाको शरीरले उपचारको विधि स्विकारिरहेको छैन । अर्कोतर्फ हामी उनको थप उपचारका लागि कतै लैजान पनि सक्दैनौं । हामी उनको स्वास्थ्यका लागि प्रार्थना मात्रै गर्न सक्छौं ।’

यद्यपि, यसबारे डाक्टरले प्रतिक्रिया दिँदै ४१ वर्षीया गायिकाको अवस्था अहिले स्थिर भएको जानकारी दिए ।

९ दिनदेखि अस्पतालमा भर्ना छिन् कनिकाः

कनिका पछिल्लो ९ दिनदेखि संजय गान्धी पोस्ट ग्राजुएट इन्स्टीच्युट अफ मेडिकल साइन्समा भर्ना छिन् । २० मार्चमा उनलाई कोरोनाभाइरस संक्रमणको पुष्टि भएपछि उनलाई अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो । अहिलेसम्म उनको चार पटक परीक्षण भइसकेको छ ।

९ मार्चमा लण्डनबाट फर्किएकी थिइन् कनिकाः

कनिका ९ मार्चमा लण्डनबाट फर्किएकी थिइन् । त्यसपछि उनले लखनउ र कानपुरको यात्रा गरेकी थिइन् । दुई दिन लखनउको होटल ताजमा बसिन् र केही पार्टीमा समावेश भइन् ।

यसैबीच जब उनलाई रुघा–खोकी ज्वरो आयो, उनी अस्पताल पुगिन् । त्यसपछि उनी संक्रमित भएको जानकारी प्राप्त भयो ।

लण्डनबाट फर्किएपछि आफूलाई आइसोलेट गर्नुको साटो उनले पार्टी गरेको र मानिसहरुलाई भेटेको भन्दै सोसल मिडिया प्रयोगकर्ताले उनको निकै आलोचनासमेत गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!