बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन, अमिताभले भने 'यो असैह्य छ'

Posted on: 30 Apr, 2020

वैशाख १८, काठमाडौँ | बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुरको स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए । बुधबार राति उनी अस्पताल भर्ना भएका थिए। 

अमेरिकामा लामो समय उपचार गरेर उनी गत सेप्टेम्बरमा मात्र भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

बुधबारमात्रै बलिउडले एक चर्चित अभिनेता इरफान खानलाई गुमाएको थियो । 

सन् २०१८ मा कपूरलाई क्यान्सर भएको पत्ता लागेको थियो । ऋषि कपुर दिग्गज अभिनेता राज कपुरको छोरा हुन् । उनले आफ्नो फिल्मी करियर सन् १९७३ मा बबी फिल्मबाट सुरु गरेका थिए ।

उनले श्री ४२० र मेरा नाम जोकरमा बाल कलाकारको भूमिका पनि निर्वाह गरेका थिए । उनले अन्तिम फिल्म ‘द बडी’मा काम गरेका थिए ।

प्रायः सामाजिक सन्जालमा सक्रिय हुने उनले नायिका दीपिका पादुकोणसँग हलिउडको हिन्दी रिमेक फिल्म ‘द इन्टर्न’मा काम गर्ने बताएका थिए ।

ऋषि कपूरका नजिकका मित्र प्रख्यात भारतीय अभिनेता अमिताभ वच्चनले ट्वीटमा भनेका छन्, "ऋषि कपूर रहेनन्। उनले अलविदा भने। यो असैह्य छ।"

यस बिषयमा तपाइको प्रतिक्रिया...!