एक हजार नेपालीको लागि खूल्यो इजरायल रोजगार, यसरी दिनुस् आवेदन (सूचना सहित)

Posted on: 27 Jul, 2021

अनिल अधिकारी | साउन १२, काठमाडौँ | नेपालले सरकारी प्रक्रियाबाट इजरायलमा कामदार पठाउने सम्झौता भए अनुसार आवेदन खूला गरेको छ । वैदेशिक रोजगार बिभागले मंगलबार आवेदन मागको सूचना जारी गर्दै औपचारीक रुपमा इजरायल रोजगार खोलेको जनाएको हो । 

वैदेशिक रोजगार विभागका अनुसार इजरायलले सुसारे (केयरगिभर) कामका लागि एक हजार नेपाली श्रमिक लैजान सूचना जारी भएको छ । 


सरकारले गतवर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै पहिलो चरणमा ५ सय जना कामदार पठाउने समझदारी गरेको थियो । बिभागले जारी गरेको सूचना अनुसार इजरायलमा रोजगारको लागि मासिक ५३०० एनआईएस तलब हुनेछ । जसको नेपाली विनिमय अनुसार करिब तलब १ लाख ९३ हजार हुन आउँछ । यो तलब सातामा ४२ घण्टाको हिसावमा हुन्छ । इजरायल जाने कामदारको खानाको प्रबन्ध आफैले मिलाउनुपर्ने भए पनि बस्ने प्रबन्ध भने रोजगारदाताले नै गर्नेछन् । एक पटक रोजगारमा जाने करार अवधि १ बर्षको हुने भए पनि करार थपिएर ५ बर्षसम्म बस्न पाइनेछ ।

बिभागको सूचना अनुसार इजरायलमा ३० प्रतिशत अर्थात ३०० जना पुरुष कामदार र ७० प्रतिशत अर्थात ७०० जना महिला कामदारले रोजगारको आवसर पाउनेछन् । 

इजरायलको हेरचाह केन्द्रमा सहायक कामदारका लागि आवेदन पेश गर्न चाहने आवेदकको उमेर २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने छ । त्यस्तै उचाई कम्तिमा १.५ मिटर र तौल कम्तिमा ४५ केजी हुनुपर्ने छ । 

आवेदकको शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सि.एम.ए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पुरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्ग सम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने छ ।

आवेदक विगतमा इजरायल गई कार्य नगरेको समेत हुनुपर्ने सूचनामा उल्लेख छ । सूचना अनुसार आवेदकको बुवा, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने छ ।



इजरायल जाने कामदारहरुको करिव लागत १ लाख ६५ हजार ७०० अनुमान गरिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!