विदेशबाटै राहदानी नवीकरण गर्न सकिन्छ ? के-के चाहिन्छ कागजात ?

Posted on: 15 Sep, 2021

वैदेशिक रोजगार तथा अध्ययनको क्रममा विदेशमा रहनु भएका नेपालीहरुले विदेशमा रहंदाको समय आफ्नो पासपोर्टको म्याद सकिएको खण्डमा पासपोर्ट नवीकरण गर्न सक्छन् । जसको लागि सम्बन्धित देशमा रहेको वा नेपाल सरकारले सम्बन्धित देशको लागि तोकिएको दुतावासमा जानु पर्छ । 

सम्बन्धित दुतावासमा जाँदा उल्लेखित कागजातहरु अनिवार्य रुपमा लिएर जानुपर्छ:-

१. नेपालको राहदानी विभागको वेवसाइट https://nepalpassport.gov.np/ मा Apply Online (Pre-enrollment) भित्र https://online.nepalpassport.gov.np/PreEnrollment/home.html गई अनलाइन फाराम भरेपछि प्राप्त हुने बारकोडसहितको फारामको प्रिन्ट - १ प्रति

२. नागरिकताको प्रतिलिपि- १ प्रति

३. राहदानीको प्रतिलिपि (फोटो भएको पेज)- १ प्रति

४. सक्कल राहदानी

५. राहदानी हराएको खण्डमा सम्बन्धित देशको प्रहरीबाट जारी Police Report को सक्कल र प्रतिलिपि 


ख्याल राख्नुहोला, राहदानी नवीकरण गर्दा Online Live Enrollment गरिने र सोको लागि फोटो राजदूतावासमै खिचिने भएकाले फोटो ल्याइरहनु पर्दैन । तर यस सम्बन्धित बिस्तृत जानकारी दुतावास जानु अगावै सम्बन्धित दुतावासमा फोन सम्पर्क गरेर बुझेर जाँदा अनावश्यक दु:ख पाइदैन ।  

राहदानी नवीकरण गराउँदा दुतावासले तोकेको निश्चित शुल्क पनि तिर्नुपर्ने हुँदा आफ्नो साथमा पैसा लिएर पनि जानु पर्दछ । पासपोर्ट हराएको छ भने जति नवीकरणको लागि शुल्क लाग्छ त्यसको दोब्बर शुल्क लाग्छ । जस्तै: कतारमा हुनुहुन्छ भने पासपोर्ट नवीकरण गराउँदा शुल्क कतारी रियाल १८५ लाग्छ भने हराएको वा बिग्रिएको हो भने कतारी रियाल ३७० लाग्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!