नेपालमा आत्महत्या गर्नेमध्ये ८० प्रतिशत मानसिक रोगी

Posted on: 10 Oct, 2021

असोज २४, काठमाडौँ, न्युज कारखाना | नेपालमा आत्महत्या गर्नेमध्ये करिब ८० प्रतिशत मानसिक रोगी रहेको दाबी गरिएको छ । विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा आयोजित कार्यक्रममा यसबारे चिकित्सकले जानकारी दिएका हुन् । 

‘असमानता हटाउन आवश्यक छ सबैको साथ र योगदानः सुलभ, समान र उपयुक्त मानसिक स्वास्थ्य हाम्रो अभियान’ भन्ने नाराका साथ यसवर्ष जुम्लामा पनि टिपियो नेपालको आयोजना कर्णाली स्वास्थ्य विज्ञानको प्रतिष्ठान र नेपाल पत्रकार महासंघको समन्वयमा  विश्व मानसिक स्वास्थ्य दिवस अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । 

सो कार्यक्रममा जुम्लाका जिल्ला मनोविर्मशकर्ता नन्दराज आचार्यले अझै पनि समाजमा मानसिक रोग लागेको व्यक्ति भन्ने बित्तिकै नकारात्मक सोच राख्ने गरिएको बताए । 

‘मानसिक रोगी अझै पनि खुलेर अस्पताल आएका छैनन् । कडा अवस्था भएपछि मात्र अस्पताल जाने गर्दछन् । त्यसकारण पनि उनीहरूको उपचारमा धेरै समय लाग्ने गरेको छ’, उनी भन्छन् ।

विश्वका १० खतरनाक रोग, जसले मानिसको दैनिक क्रियाकलापमा असर गर्छ । जसमध्ये पाँचवटा मानसिक रोग डिप्रेसन, मेनिया, सिजोफोर्निया, दूव्र्यसनी र डिमेन्सिया पर्ने कार्यक्रमका वक्ताहरूले बताए । 

उनीहरूका अनुसार डिप्रेसन रोग सबैभन्दा बढी पाइने मनोरोग हो । नेपालमा मनोरोगका बिरामीलाई उपचार गर्ने जनशक्तिको कमि छ ।  जुम्लामा यो समस्या बढ्दै गएको छ ।  तर, यस विषयमा कुनै पनि सरकारी पक्ष जिम्मेवारी भएको देखिँदैन । 

विश्वमा हरेक वर्ष १० अक्टोबरमा मानसिक स्वास्थ्य  दिवस  मनाइन्छ  ।  तर, मानसिक रोगलाई मनोरोग भनेर पनि चिन्ने गरिन्छ । विश्वमा करिब ५० करोड मानिस कुनै न कुनै प्रकारको मनोरोगबाट पीडित छन ।

त्यस्तै, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका  मनोचिकित्सक  डाक्टर अनुप देवकोटाले अझै पनि समाजमा मानसिक रोग लागेको व्यक्ति भन्नेबित्तिकै नकारात्मक सोच राख्ने गरेको बताए । जसका  कारण बिरामी खुलेर अस्पताल नआउने गरेको उनको अनुभव छ । 

‘धेरैजसो आत्महत्याको घटना मानसिक बिरामीबाट हुने गरेको छ । नेपालमा आत्महत्या गर्नेमध्ये करिब ८० प्रतिशत मानसिक रोगी नै छन् । बाँकी, सिजोफ्रेनिया, डिमोन्सिया, रक्सी र लागूऔषध सेवनका कारण आत्महत्या गर्ने पुग्छन्’, डा. देवकोटा भने ।  

मानसिक रोगको उपचार गर्नु भनेको आत्महत्याको रोगथाम गर्नु पनि हो । युवावर्गमा आर्थिक पक्ष अथवा घर–परिवारबाट छुट्टिनु पर्दाको पीडाले पनि आत्महत्याको सिकार बन्दै गएका छन् । 

घर–परिवारमा कुनै सदस्यले अनौठो क्रियाकलाप देखाउने, निराश हुने, बढी डराउने, आत्तिनेजस्ता क्रियाकलाप गर्ने थाल्यो भने मानसिक रोगको सिकार भएको हुन सक्छ । त्यसैगरी, अनावश्यक रूपमा निद्रा बिग्रन थाल्यो, व्यक्ति दुब्लाउँदै गयो, आत्महत्याको सोच आयो भनेर कोहीसँग कुरा गर्न थाल्यो भने मानसिक रोगको लक्षण हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!