‘उपभोक्ता आफै सचेत हुनुपर्ने’

Posted on: 13 Mar, 2017

फागुन ३०, काठमाडौँ । गुणस्तरीय समान, मूल्यसूची र प्रयोगयोग्य अवधिका विषयमा उपभोक्ता आफैँ सचेत हुनुपर्ने आवश्यकतामाथि जोड दिइएको छ । 

विश्व उपभोक्ता दिवसका अवसरमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभाग र उपभोक्ताहित संरक्षण मञ्चद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘उपभोक्ताहित संरक्षण कानुन परिमार्जनको आवश्यकता’ विषयक वक्तृत्वकला प्रतियोगितामा सहभागीहरुले उपभोक्ता आफैँ आफ्नो अधिकारप्रति सचेत हुुनुपर्नेमा जोड दिएको हो । 

सो अवसरमा सर्वोच्च बार एसोसिएसनका अध्यक्ष शैलेन्द्रकुमार दाहालले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर गुणस्तरीय सामान बजारमा राखिनुपर्ने र बजारमा वस्तुका बारेमा उपभोक्ता आफै पनि जागरुक हुनुपर्र्ने बताउनुभयो । 

मञ्चका उपाध्यक्ष केशव भण्डारीले उपभोक्ताको हकअधिकार र स्वास्थ्यलाई असर पर्नेगरी कुनै पनि वस्तु र सामग्रीको बेचबिखन गर्न नहुनेमा जोड दिनुभयो । 

नेपालको उपभोक्ता संरक्षण ऐन–२०५४ मा धेरै कुरा संशोधन तथा परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको छ । नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ४४ मा उपभोक्ताको हकमा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ भनिएको छ । 

त्यस्तै गुणस्तरीय वस्तु वा सेवाबाट क्षति पुगेका व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनी व्यवस्था छ तर सो सम्बन्धी कानुन बनाएर कार्यान्वयनमा आएको छैन । जसलेगर्दा आम उपभोक्त गुणस्तरहीन वस्तु र सेवा प्रयोग गर्न वाध्य भएको गुणासो सहभागीको छ । 

प्रतियोगितामा नेपाल ल क्याम्पस, चक्रवती कलेज, काठमाडौँ विश्वविद्यालय, काठमाडौँ स्कूल अफ ल क्याम्पसबाट नौ जना विद्यार्थीले भाग लिएका थिए । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!