काव्य प्रवाहमा ‘नाफाको जिन्दगी’माथि चर्चा

Posted on: 04 Feb, 2018

माघ २१, काठमाडौँ । आधारशिला–अक्सफोर्ड कलेज खुशिबुँको आठौँ काव्य प्रवाहमा डा दीपेन्द्र रोकायाद्वारा लिखित ‘नाफाको जिन्दगी’ पुस्तकमाथि शनिबार चर्चापरिचर्चा भएको छ । 

सो अवसरमा साहित्यकार कुन्ता शर्माले सशस्त्र द्वन्द्वमा संलग्न डा रोकायाको रचनाले देशको वास्तविकता बताउँदै ‘जनयुद्ध’ले देशमा परिवर्तन गर्ने आधार प्रस्तुत गरे पनि त्यो बीच बाटामै अल्मलिएको टिप्पणी गर्नुभयो । कृष्णसेन इच्छुक प्रतिष्ठानका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले कृतिमा क्रान्तिको दौडानमा देखिएका सत्यलाई सटिक र सकारात्मक रुपमा प्रस्तुत गरिएको बताउनुभयो । 

साहित्यकार नारायण निराशीले युद्ध साहित्यमा लेखिएका धेरै किताव पढेको तर ‘नाफाको जिन्दगी’जस्तो सजीव र स्पष्ट चित्र दिने पुस्तक अरु नभएको जिकिर गर्नुभयो । साहित्यकार पुष्कर लोहनी, कलानिधि दाहाल, धनबहादुर मगर, वैरागी जेठा, कौशिला रिसाल, देवकी तिमल्सिनालगायतले कृति आफ्नो पढ्ने प्राथमिकतामा रहेको पुस्तक बताउनुभयो । लेखक डा रोकायाले पुस्तक संस्मरण, अनुभूति र डायरी विधाका रुपमा लेखिएको जानकारी दिनुभयो । 

उक्त अवसरमा प्रकाश गफाडी, डा प्रदीप मैनाली, राजबाबु श्रेष्ठ, दीक्षा भण्डारी, विमला दाहाल, चन्द्रकला आचार्य, सरस्वती घिमिरे, कल्पना न्यौपाने, जया शर्मा, डा चूडा ढकाललगायत ५० जनाले आआफ्ना कविता, गीत, मुक्तक र हाइकु प्रस्तुत गर्नुभएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!