साहित्यकार रमेश शुभेच्छु पुरस्कृत हुँदै

Posted on: 08 Feb, 2018

माघ २५, काठमाडौं । पण्डित आनन्दमणि–टुल्की, नन्दकला स्मृति प्रतिष्ठान काठमाडौँले साहित्यकार रमेश शुभेच्छुलाई पुरस्कृत गर्ने भएको छ । यो प्रतिष्ठान स्याङजा फापरथुमका शिक्षासेवी अग्रज पं.आनन्दमणि ढकाल र उहाँको परिवारका नाममा उहाँका सुपुत्र पूर्वमन्त्री त्रिलोचन शर्मा ढकाललगायत परिवार जनले कोष जुटाएर स्थापना गरिएको हो ।

प्रतिष्ठानले स्याङ्जा जिल्लाका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने शिक्षासेवका साथै प्रत्येक दुई वर्षमा एक विशिष्ट साहित्यकारलाई पुरस्कृत गर्दै आएको छ । यस वर्ष पाँचथरका साहित्यकार कवि एवम् समालोचक रमेश शुभेच्छु पुरस्कृत हुँदैछन् । शुभेच्छुका कविता, काव्य, महाकाव्य, समालोचना, बालसाहित्य, सम्पादन र पाठ्यपुस्तक गरी चार दर्जनअधिक कृतिहरु प्रकाशित छन् । साहित्य सिर्जना समीक्षा, सङ्गठन, साहित्यिक पत्रकारिता आदिमा सक्रिय शुभेच्छुलाई यो पुरस्कार पहिलोपटक स्याङ्जा जिल्लाभन्दा बाहिर प्रदान गरिन लागिएको जानकारी प्रतिष्ठानका संरक्षक पूर्वमन्त्री त्रिलोचन ढकालले दिनुभयो । 

उहाँले भन्नुभयो  सुरुमा स्याङ्जाली स्रष्टालाई मात्र प्रदान गर्ने उद्देश्य रहे पनि  यस प्रतिष्ठानको राष्ट्रव्यापी विस्तारका लागि यस पुरस्कारलाई य पटक मेचीको पल्लोछेउ पाँचथर पुर्याएका छौँ  । ताम्रपत्र र नेपाली दोसल्लासहित रु दश हजार नगद राशि सहित यो पुरस्कार आगामी शनिबार माघ २७ गते राजधानीको नेपाल प्रज्ञाप्रतिष्ठानको प्रवचन कक्ष १ मा विशेष समारोहकाबीच प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतिका हातबाट प्रदान गरिने कुरा प्रतिष्ठानका अक्ष्यक्ष महेश्वर शर्माद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!