डोलिन्द्रको ‘बादलभित्रको घाम’ सार्वजनिक

Posted on: 03 Aug, 2018

साउन १८, काठमाडौँ | डोलिन्द्रप्रसाद शर्माको निबन्धसंग्रह ‘बादलभित्रको घाम’ सार्वजनिक गरिएको छ । 


वाङ्मय शताब्दीपुरुष ९९ वर्षीय सत्यमोहन जोशी र पाँच वर्षीया बालिका रोजिना सुनारले आज यहाँ आयोजित कार्यक्रममा उक्त निबन्धसंग्रह विमोचन गर्नुभएको हो । 

पुस्तक विमोचन गर्दै शताब्दीपुरुष जोशीले लेखकले आफूले भोगेका सत्यकुरालाई संस्मरणात्मकरुपमा निबन्ध लेखेको बताउनुभयो । 

उहाँले निबन्धमा प्रयोग भएका बिम्वले निबन्धको क्षेत्रमा नयाँ आयाम थपिएको बताउनुभयो । कार्यक्रममा समीक्षक राजेन्द्र सुवेदीले लेखकले आफ्नै जीवनमा भोगेका कुरालाई पठनीय र तथ्यपरकरुपमा लेखेको बताउनुभयो । 

उहाँले पुस्तकमा उल्लेख गरिएका निबन्धले समाजलाई कुरुपता भोग्न नपरोस् भनेर सन्देश दिएको भन्दै समाजलाई के योगदान दिन सकिन्छ भन्ने कुरा पुस्तकमा समेटिएको बताउनुभयो । 

कार्यक्रममा शमी साहित्य प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले लेखकले निडरतापूर्वक आफूले भोगेका र विसंगतिका कुरा उल्लेख गरेको बताउनुभयो । 

उहाँले नयाँ लेखकले राम्रो भाषामा पुस्तक लेखेको भन्दै पुस्तक नपढे नेपालको राजनीतिक संक्रमणकाल चिन्न नसकिने बताउनुभयो । 

कार्यक्रममा लेखक शर्माले आफ्नो जीवनमा देखेका भोगेका कुरालाई निबन्धका रुपमा प्रस्तुत गरेको बताउनुभयो । शमी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकमा ‘पात्लेखेतदेखि मुगलानसम्म’, ‘लाहुरे जीवनः एक सपना’, ‘जिन्दगीका अक्करबाट नियाल्दै उज्यालो’, ‘गिरिजाबाबुको धाप’, ‘काठमाडौँदेखि लोमान्थाङसम्म’, ‘साझा प्रवेशको चक्कर’लगायतका १८ वटा निबन्ध रहेका छन् । 

यसैगरी सोही कार्यक्रममा प्रतिष्ठानले रु एक लाख राशिको ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ स्थापना गरिएको छ । निबन्धसंग्रहको बिक्रीबाट प्राप्त हुने रकम अक्षयकोषमा राखी हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिने उहाँले जानकारी गराउनुभयो । 

साझा प्रकाशनका अध्यक्ष र महाप्रबन्धकसमेत रहनुभएका शर्माको उक्त पुस्तक पढेर प्राप्त हुने प्रतिक्रियाको अभिलेखका आधारमा गोलाप्रथाबाट तीन पाठकलाई जनही रु २५ हजारसहित सम्मान गरिने भएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!