फिल्म गोपीको प्रवर्द्धन गर्न कविता प्रतियोगिता आह्वान

Posted on: 26 Dec, 2018

पुस ११, काठमाडौं | आरोही इन्टरटेनमेन्ट प्रालिले फिल्म गोपीको प्रवद्र्धन गर्न कविता प्रतियोगिता आह्वान गरेको छ । कम्पनीले बुधबार नगद पुरस्कारसहितको कविता प्रतियोगिता घोषणा गरेको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । त्यस्तै सात जनालाई जनही ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार पनि प्रदान गरिनेछ ।


प्रतियोगितामा विश्वका जुनसुकै स्थानमा बस्ने नेपालीहरुले भाग लिन पाउनेछन् । उमेरको कुनै हदबन्दी छैन । सहभागीले गोपी फिल्मको ट्रेलर हेरेर स्वावलम्बन, स्वरोजगार र परिश्रमको भाव झल्किने कविता लेख्नुपर्नेछ ।

सहभागीहरुबाट प्राप्त कवितालाई दुई कवि उपेन्द्र सुब्बा र नवराज पराजुलीले मूल्यांकन गरेर विजेता छनोट गर्नेछन् । आगामी माघ ७ सम्म प्राप्त कवितालाई प्रतियोगितामा समावेश गरिने आयोजकले जनाएको छ । कविता नेपाली भाषा लेखिएको हुनुपर्नेछ । माघको दोस्रो हप्ता विजेतालाई पुरस्कृत गर्नेछ ।

यस्तो खाले प्रतियोगिताले नयाँ प्रतिभाहरुलाई ठूलो उत्साह मिल्ने निर्णायक उपेन्द्र सुब्बा बताउँछन् । कविताप्रति युवाहरुको रुचि पछिल्लो समयमा बढिरहेको र यो प्रतियोगिताले त्यसमा थप टेवा पु¥याउने विश्वास अर्का निर्णायक नवराज पराजुलीको छ ।

गोपी फिल्मलाई साहित्यसँग जोड्नका लागि कविता प्रतियोगिता आयोजना गरिएको निर्देशक दीपेन्द्र लामाले बताए । स्वावलम्बन र स्वरोजगारसम्बन्धी साहित्यप्रेमीहरुमा कस्तो खालको धारणा रहेको छ, त्यो जान्न पनि यो प्रतियोगिता सहयोगी हुने उनले बताए ।

आरोही इन्टरटेनमेन्टले निर्माण गरेको गोपी आगामी माघ १८ गते रिलिज हुँदैछ । सामिप्यराज तिमल्सेनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् । फिल्ममा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रमेश अधिकारी, अंकित खड्का, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याललगायतले अभिनय गरेका छन् ।

कविता प्रतियोगितामा सहभागी हुनेहरुका लागि निम्न शर्तहरु राखिएका छन्:-

१. कविता नेपाली भाषामा हुनुपर्नेछ ।

२. नेपालमै बसेर श्रम गर्न कविताले प्रेरित गर्नुपर्नेछ ।

३. कविताको शीर्षक सहभागीले नै राख्नुपर्नेछ ।

४. कविता पद्यात्मक र गद्यात्मक दुवै स्विकार्य हुनेछ ।

५. कविताको लम्बाईमा कुनै हदबन्दी छैन ।

६. प्रतियोगितामा नेपाल र अरु देशबाट जुनसुकै उमेरकाले कविता पठाउन सक्नेछन् ।

७. कविता पठाउनेले आफ्नो नाम, ठेगाना, उमेर र सम्पर्क टेलिफोन नम्बर प्रष्टसँग उल्लेख गर्नुपर्नेछ ।

८. कविताहरुको मूल्यांकन कविद्वय उपेन्द्र सुब्बा र नवराज पराजुलीले गर्नेछन् । कुनै विवाद आएमा आयोजकले समाधान गर्नेछ ।

९. कविता २०७५ पुस ११ देखि माघ ७ गतेसम्म पठाइसक्नु पर्नेछ । विजेताहरुलाई माघको दोस्रो हप्ता पुरस्कृत गरिनेछ ।

१०. सहभागीहरुले कविता [email protected] मा पठाउनुपर्नेछ । कुनै जिज्ञासा भएमा यही ठेगानामा इमेल गर्न सक्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!