कविता महोत्सव २९ मंसिरमा

Posted on: 21 Nov, 2020

मंसिर ६, काठमाडौँ | नेपाल प्रज्ञा-प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही २९ मंसिर २९ गते काठमाडौंमा आयोजना गर्ने भएको छ | प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक ९ असारमा हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड-१९ का  कारण स्थगन गरिएको थियो |

प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेलले अब भौतिक दूरी कायम गरी महोत्सव आयोजनाका लागि नयाँ मिति तय गरिएको बताए | प्रतिष्ठानले विसं २०२२ देखि महोत्सव आयोजना गर्दै आएको छ । यसअघि विसं २०७२ मा गोरखा भूकम्प जाँदा कविता महोत्सव स्थगित भएको थियो |

प्रतिष्ठानले प्रतियोगिताको पुरस्कार राशिसमेत वृद्धि गर्ने निर्णय गरेको छ । सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायका अनुसार प्रथमलाई ५० हजार, द्धितीयलाई ४० हजार र तृतीय तीन जनालाई जनही ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिने छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!