चुनावमा मौसम बाधक, बुधबार दिनभरजसो पानी पर्ने

Posted on: 27 Jun, 2017


असार १३, काठमाडौं । दोस्रो चरण स्थानीय निर्वाचनमा मौसम बाधक बन्‍ने देखिएको छ। बुधबार दिनभरजसो वर्षा हुने भएपछि मतपत्र भिज्नेदेखि मतदातालाई आवतजावतमा समेत समस्या हुने देखिएको हो। प्रदेश नम्बर १, ५ र ७ प्रदेशभर नै बुधबार वर्षा हुने सम्भावना रहेकाले सुरक्षित रुपमा छाता, घुम, प्लास्टिक र वर्षादी बोकेर मतदान गर्न जान मौसमविदले सुझाव दिएका छन् ।

उनीहरूले मतदान अधिकृत र कर्मचारीलाई समेत मतदान सामग्री नभिज्ने गरी सुरक्षित व्यवस्था गर्न सुझाएका छन् । जल तथा मौसम विज्ञान विभाग एयरपोर्ट स्टेसनका मौसमविद समिर श्रेष्ठले एक नम्बर प्रदेशमा बुधबार बिहानैदेखि मनसुन बदली हुने र लगातार ५ घन्टासम्म पानी पर्ने देखिएको बताए ।

पूर्वी र मध्यभागमा दिनभरजसो मनसुन सक्रिय हुने विभागको पूर्वानुमान छ। प्रदेश ५ र ७ मा पनि मौसम बदली हुने र सिमसिम वर्षा हुने विभागले जनायो। जेठ २९ गते नेपाल भित्रिएको मनसुन केही दिनसम्म सक्रिय हुन नसके पनि तीन दिनदेखि पश्चिम नेपालसम्म फैलिइसकेको मौसमविद श्रेष्ठले जानकारी दिए ।

चुनावको दिन पूर्वी नेपालमा बिहान र दिउँसो तथा पश्चिम नेपालमा अपराह्न र साँझ वर्षा हुने विभागले जनाएको छ । पश्चिमी क्षेत्रमा भने सिमसिम वर्षा भए पनि लामो समय नरहने विभागको अनुमान छ। समग्र वर्षा भएको हेर्दा पूर्वी नेपालका स्टेसनहरूमा बढी पानी परेको देखिएको छ । धरानमा आइतबार बढी पानी परेको थियो भने उपत्यकामा ३० मिलिलिटर र पश्चिमी नेपालको दिपायलमा ६७ मिलिलिटर परेको थियो ।

मंगलबारसमेत पूर्वी र मध्य नेपालको अधिकांश क्षेत्रमा पानी पर्ने मौसमविदहरूको पूर्वानुमान छ । विभागले क्षेत्रगत रूपमा दैनिक तीन घन्टाको फरकमा १६ स्थानबाट मौसम जाँच गरी रिपोर्ट दिँदै आएको छ। यता चारसय बढी स्थानबाट मासिक रूपमा मौसमी अवस्था संकलन गरी रिपोर्ट दिँदै आएको छ । -अन्नपूर्ण पोस्ट दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!